logo
  • शनिबार, असोज १७ २०८३

विपुल र रविको जोडी च्याम्पियन


  • पब्लिक सूचना
  • आइतबार, असार २४ २०८१

रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन्।

महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९–११, ११–६, ११–६ र १४–१२ को सेटमा पराजित गरे । विजेताले ४० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे।

इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा भएको प्रतियोगितामा गोड स्पिन टेबलटेनिस एकेडेमीका सुरज वज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेश्रो भए । तेश्रो हुने जोडीले समान १०–१० हजार नगद पुरस्कार पाए ।

सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा १ मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्समा पुरुष/महिला, पुरुष/पुरुष र महिला/महिला खेलाडीको जोडी मिलेर खेल्न पाउने प्रावधान थियो । जम्मा १ सय २८ खेलाडी सहभागी थिए ।

उत्कृष्ट खेलाडीको उपाधि भने पुरुष÷महिलामा छुट्टाछुट्टै प्रदान गरिएको थियो । पुरुषमा रिभाइभका एलेक्स महर्जन तथा महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार जिते ।

 

विजेतालाई बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, साग स्वर्णधारी टेबलटेनिसका सिजरिन शाह र गीता शाह, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, आयोजक ग्रुपका अध्यक्ष सुमन खड्गी, जिओम टेबलटेनिस नेपालका निर्देशक ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । समापनका अवसरमा जिओमले सहभागी १ सय २८ खेलाडी मध्ये ७ जनालाई ‘लक्की ड्र’ मार्फत ५० हजार रुपैयाँ बराबरको रबर र बल प्रदान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend