पब्लिक सूचना
काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. सुनील शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने र पार्टी निर्माणमार्फत राष्ट्र निर्माण गर्ने अभियानसहित महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि काठमाडौंमा हुँदैछ। उम्मेदवारी घोषणा गर्दै शर्माले बदलिँदो परिस्थितिमा कांग्रेसलाई मुलुकका दूरदराजमा रहेका नागरिकसँग प्रत्यक्ष रूपमा जोड्नुपर्ने बताए। दुई छाक खान संघर्ष गरिरहेका तथा सामान्य रोगको उपचारसमेत गर्न नसक्ने हजारौँ नागरिकका पक्षमा आफूले गर्दै आएको सामाजिक कामलाई राजनीतिक यात्रासँग जोडेर अघि बढ्ने उनको भनाइ थियो।
शर्माले आफ्नो राजनीतिक यात्रालाई गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालदेखि जोड्दै १२ बुँदे समझदारीदेखि लोकतन्त्र पुनःस्थापनाको आन्दोलनसम्म आफूले निर्वाह गरेको भूमिकाको स्मरण गरे। तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई नजरबन्दमा राखिएको समयमा नेपालदेखि भारत हुँदै अमेरिकासम्म पुगेर लोकतन्त्र पुनःस्थापनाका लागि पहल गरेको लामो राजनीतिक पृष्ठभूमिसहित आफू कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिन लागेको उनले बताए। शर्माले लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म राजनीतिक पहल गरेको बताएका छन्।
‘मेरा अग्रज, मेरा साथीहरू, मुलुकभित्र र बाहिरबाट विभिन्न स्थानबाट आउनुभएका नेपाली कांग्रेसका तमाम महाधिवेशन प्रतिनिधिले यो अभियानमा साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ शर्माले भने, ‘हामी सँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियानमा अघि बढ्नेछौँ। पहिला कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने हाम्रो अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षासहित आज महामन्त्रीको उम्मेदवारी घोषणा गर्दछु।’
महामन्त्रीमा उम्मेदवारी दिनुको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा शर्माले कांग्रेस र दूरदराजमा रहेका ‘भुइँ मानिस’ बीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताए।
‘प्रत्यक्ष रूपमा दूरदराजमा रहेका भुइँ मानिसहरूसँग कांग्रेसको प्रत्यक्ष सम्बन्ध जोड्न, पार्टी बनाउन र देश बनाउने अभियानमा जुट्नका लागि मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ,’ उनले भने।
बुद्ध दर्शनका विद्यार्थीसमेत रहेको बताउँदै शर्माले समाज परिवर्तनका लागि राजनीति नै मूल बाटो भएको धारणा राखे। शून्यवादको सिद्धान्तलाई आधार मान्दा कुनै पनि वस्तु वा अस्तित्व एक्लै पर्याप्त नहुने र सबै कुरा परिपूरक तथा सहायक हुने उल्लेख गर्दै उनले राजनीति पनि समाज परिवर्तनको एउटा माध्यम भएको बताए।
‘समाज बदल्नका लागि ध्यान मात्रै गरेर सम्भव छैन। त्यसले आत्मशान्ति र मानसिक शान्ति सम्भव होला, तर आमूल समाज परिवर्तनका लागि राजनीति नै मूल बाटो हो। बुद्धपथलाई अंगाल्दै म राजनीतिमा आएको हुँ र त्यसैका लागि महामन्त्रीमा मेरो उम्मेदवारी हो,’ उनले भने।
शर्माले अहिले कांग्रेस खस्किएको अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए। आफू कुनै समूह वा गुटको उम्मेदवार नभएको उनको भनाइ थियो।
‘महामन्त्रीमा मेरो उम्मेदवारी घोषणा भइसकेको छ र सभापतिको उम्मेदवारी घोषणा हुन बाँकी छ। जेन्जी आन्दोलनलाई समेत समेट्न सक्ने युवा उम्मेदवारीलाई मेरो समर्थन रहन्छ,’ उनले भने, ‘जति पनि महाधिवेशन प्रतिनिधिहरू आउनुभएको छ, म उहाँहरू सबैको साझा उम्मेदवार हुँ। मेरो कुनै समूह हुँदैन। मेरो समूह भनेको नेपाली कांग्रेसको टोली हो। म तमाम कांग्रेसजनको उम्मेदवार हुँ।’
नेता र जनताबीच बढेको दूरी घटाउनु आफ्नो मुख्य उद्देश्य रहेको पनि शर्माले बताए।
‘जनता र नेताबीच रहेको जुन खाडल छ, त्यो खाडल पुर्न आएको हुँ,’ उनले भने।
पाँचतारे होटलमा बसेर मात्रै नभई हुम्लाको सर्केघाटदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म पुगेर हिमाल, पहाड र मधेशलाई जोड्दै कांग्रेसलाई जनतासँग जोडेर लैजाने साझा उम्मेदवारका रूपमा आफू अघि बढेको उनको भनाइ थियो।
कांग्रेसभित्र देखिएको मतभेदबारे सोधिएको प्रश्नमा शर्माले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले सानातिना झैझगडा भइरहने बताए।
‘यसलाई मिलाउने कर्तव्य हाम्रो हो। महामन्त्री भएपछि मेरो पहिलो काम त्यसैमा हुनेछ,’ उनले भने।
शर्माले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तिमा १५औँ महाधिवेशनलाई नेतृत्व चयनको नियमित प्रक्रिया मात्र नभई नेपाली कांग्रेसको गौरव, विश्वास र जनअपेक्षा पुनःस्थापित गर्दै राष्ट्र निर्माणको नयाँ संकल्प गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्।
विज्ञप्तिमा बीपी कोइरालाले नेपाली कांग्रेस स्थापना गर्दा नेपाली जनता र सिंगो देशले पार्टीप्रति राखेको विश्वास, भरोसा र आशालाई पुनःस्थापित गर्ने गरी कांग्रेस निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ। विगतका कमजोरीबाट पाठ सिक्दै आगामी पुस्ता र देशको भविष्यलाई केन्द्रमा राखेर पार्टीलाई नयाँ ढंगले अघि बढाउने संकल्प शर्माले विज्ञप्तिमार्फत व्यक्त गरेका छन्।
‘बीपी कोइरालाले नेपाली कांग्रेस स्थापना गर्दा नेपाली जनता र सिंगो देशले नेपाली कांग्रेसप्रति जस्तो विश्वास, भरोसा र आशा राखेका थिए, त्यस्तै आशा, भरोसा, विश्वास र गौरव गर्न लायक पार्टी यो महाधिवेशनबाट हामी बनाउँदै छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस महाधिवेशनबाट निर्माण हुने सही नेतृत्वबाट हामीले यो राष्ट्र निर्माण गर्ने हो। विगतका कमजोरीहरूलाई बिर्सेर सुन्दर भविष्यका लागि अगाडि बढ्ने संकल्प नै यो महाधिवेशन हो।’
विज्ञप्तिमा कांग्रेसको भावी नेतृत्वले पार्टी निर्माणलाई राष्ट्र निर्माणसँग जोडेर अघि बढ्नुपर्ने धारणा राखिएको छ। महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, कार्यकर्ता, शुभेच्छुक तथा सबै कांग्रेसजनको मनमा पार्टी निर्माण र राष्ट्र निर्माणको एउटै संकल्प रहेको उल्लेख गर्दै शर्माले १५औँ महाधिवेशनबाट निर्वाचित हुने कार्यसमितिले त्यसलाई पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।
महाधिवेशनले कांग्रेसका चार पुस्तालाई सँगै अघि बढाउने उनको प्रतिबद्धता पनि विज्ञप्तिमा छ। नवयुवा र परिपक्व पुस्तालाई एउटै यात्रामा जोडेर कांग्रेसलाई राष्ट्र निर्माणको अभियानमा अघि बढाउने उल्लेख गर्दै शर्माले १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी देश निर्माणको स्पष्ट संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
विज्ञप्तिमा बीपी कोइरालाको सपना र आजका नेपाली जनताको चाहना पूरा गर्ने संकल्पसहित पार्टी र राष्ट्र निर्माणमा समर्पित हुने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको शर्माले उल्लेख गरेका छन्।
‘मलाई विश्वास छ, नेपाली जनता, कार्यकर्ता, शुभेच्छुक, आम महानुभाव र नेताहरू सबैले ठूलो मनोबलका साथ मेरो उम्मेदवारीलाई अनुमोदन गर्नुहुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र निर्माणको यो महान् संकल्पसहितको मेरो यात्रामा यहाँहरूले साथ दिनुहुनेछ। यो देश निर्माणबाहेक मेरो अर्को कुनै ध्येय छैन। महामन्त्री भएर पार्टी बनाउनेछु र पार्टीमार्फत यो राष्ट्र बनाउनेछु।’
शर्माले आफूलाई पार्टी र राष्ट्र निर्माणको जिम्मेवारी दिन कांग्रेसका महाधिवेशन प्रतिनिधि, कार्यकर्ता, शुभेच्छुक तथा नेताहरूसँग आग्रह गरेका छन्। उम्मेदवारी घोषणासँगै उनले आफ्नो राजनीतिक यात्रालाई पार्टी संगठन निर्माण, जनतासँग प्रत्यक्ष सम्बन्ध र राष्ट्र निर्माणको अभियानसँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शर्मा २०५४ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहेका उनी स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय छन्। १५औँ महाधिवेशनका लागि उनी यसअघि बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका थिए। त्यसपछि मोरङ–३ बाट ७९० सदरमतमध्ये ६५० मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend