पब्लिक सूचना
काठमाडौँ ।
हालै सम्पन्न निर्वाचनको परिणामसँगै मुलुक नयाँ राजनीतिक मोडमा उभिएको छ। २०१५ सालको ऐतिहासिक निर्वाचनपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनमतलाई धेरैले ‘अभूतपूर्व आशा’ को रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा सामाजिक अभियन्ता एवं सचेत नागरिक पृथ्वी भुजेलले नवनिर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै आगामी पाँच वर्षका लागि मार्गचित्र र खबरदारी प्रस्तुत गर्नुभएको छ।
भुजेलले रास्वपाका नेतृत्वगण लगायत देशभरबाट विभिन्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै यो आशालाई विश्वासमा परिणत गर्न आग्रह गर्नुभएको छ। “हाम्रो स्वर्ग जस्तो देश जसले बनाउँदा पनि हुन्छ, मात्र देश समृद्ध बन्नुपर्यो,” उहाँले उल्लेख गर्नुभएको छ।
आगामी पाँच वर्षमा नवनिर्वाचित सरकार र जनप्रतिनिधिहरूले सम्बोधन गर्नुपर्ने मुख्य बुँदाहरूलाई भुजेलले यसरी सूत्रबद्ध गर्नुभएको छ:
निःशुल्क शिक्षा र स्वास्थ्य: पैसाको अभावमा कसैले पनि शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस्।
भ्रष्टाचारमा शून्य सहनशीलता: राज्यका हरेक निकाय पारदर्शी हुनुपर्ने र २०४६ सालयताका सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति निष्पक्ष छानबिन हुनुपर्ने।
संस्थागत स्वतन्त्रता: न्यायालय, अख्तियार र प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइनुपर्ने।
मेरिटोक्रेसीको प्रवर्द्धन: नातावाद र चाकडीको अन्त्य गरी योग्यता र क्षमताका आधारमा अवसर प्रदान गरिनुपर्ने।
अनुसन्धान र विकासमा लगानी: मठ, मन्दिर र भ्यू-टावरभन्दा विद्यालय, अस्पताल र अनुसन्धान केन्द्रमा लगानी बढाउनुपर्ने।
किसान र युवा लक्षित कार्यक्रम: कृषि उत्पादनको उचित मूल्य, स्वदेशमै उद्यमशीलताको वातावरण र वैदेशिक रोजगारीमा रहेका नेपालीको सम्मान अभिवृद्धि।
डिजिटल सेवा: सरकारी सेवालाई पूर्ण डिजिटल बनाई लाइन र घुसको झन्झट अन्त्य गर्नुपर्ने।
विगतको राजनीतिक इतिहासलाई स्मरण गर्दै भुजेलले भन्नुभएको छ, “२०६४ पछि प्रचण्डले पनि जनताको ठूलो विश्वास पाएका थिए, तर त्यो धेरै टिकेन।” शताब्दिमा विरलै प्राप्त हुने यस्तो अवसरलाई सदुपयोग गर्न उहाँले नवनिर्वाचित शक्तिलाई सुझाव दिनुभएको छ।
उनले अन्य राजनीतिक दलहरूलाई पनि संयमित भएर असल कार्यमा सहयोग गर्न र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न अनुरोध गरेका छन्। रोचक पक्ष त यो छ कि, उनले आम जनता नै अबको असली प्रतिपक्ष भएको घोषणा गरेका छन्। “हामी साथ पनि दिनेछौँ, प्रश्न पनि गर्नेछौँ र निरन्तर खबरदारी पनि गरिरहनेछौँ,” उहाँको भनाइ छ।
स्वच्छ सहर, दिगो विकास, वैदेशिक हस्तक्षेपको अन्त्य र स्वाभिमानी नेपाली पहिचान नै अबको समृद्ध नेपालको आधार हुनुपर्नेमा उहाँको जोड छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend