पब्लिक सूचना
काठमाडौँ । राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ।
प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता आएको सो विधेयकलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गरेका थिए।
शुक्रबारको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। लामो समयदेखि प्रक्रियामा रहेको यस विधेयकलाई अगाडि बढाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ।
यस विधेयकको पारितसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार भएको छ। यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। मन्त्री पुनले यस विधेयकको महत्त्वबारे सदनलाई जानकारी गराउँदै यसको कार्यान्वयनले वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend