logo
  • शनिबार, असोज १७ २०८३

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन


  • पब्लिक सूचना
  • बिहिबार, असार २१ २०८१

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

मोरङ, असार २० गते । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीन वटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र स्वास्थ्य मन्त्री  राजेन्द्र कार्कीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको छ । यस्तै बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ लाई दोस्रो संशोधन गर्ने निर्णय गरेको छ ।

प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन, २०७५ लाई संशोधन गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८० लाई खारेज गर्न आज प्रदेश प्रमुखलाई सिफारिस गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता अधिकारीले बताउनुभयो । प्रदेश कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अनुदान दिने निर्णयलाई संशोधन गर्ने निर्णय गरिएको, कोशी प्रदेश बीउबिजनका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यस्तै जीव नाशक विषादी व्यवस्थापनका सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, पुराना घरका काठ गाउँबाट सहरमा ल्याउन/लैजान (ओसारपसार) गर्न ६ महिनाका लागि खुला गर्ने निर्णयसमेत गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । रासस  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend