logo
  • शनिबार, असोज १७ २०८३

घोडाघोडीमा मगर गोही प्रजनन् केन्द्र


  • पब्लिक सूचना
  • मंगलबार, असार ५ २०८१

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असार ४ गते । विश्व रामसार साईडमा सूचीकृत कैलालीको घोडाघोडी तालमा सूचक प्रजाती मगर गोहीको संख्या वृद्धि हुँदै गएपछि गोहीको प्रजनन् केन्द्र व्यवस्थापन गरिएको छ ।

पञ्जाकारमा २५ सय हेक्टर क्षेत्रफलमा फैलिएको तालको पूर्वतर्फ र पश्चिमतर्फ दुईवटा गोही प्रजनन् केन्द्र स्थापना गरिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोगमा डल्फिन संरक्षण केन्द्रले दुईवटा गोही प्रजनन् केन्द्रको उचित व्यवस्थापन गरेको छ ।

मगर गोही प्रजनन् केन्द्र व्यवस्थापनमा खटिएका कृष्ण चौधरीले डुङ्गाको सहायताले बालुवा बोकेर  प्रजनन् केन्द्र व्यवस्थित गर्ने काम भएको बताउनुभयो । घोडाघोडी सिमसार क्षेत्रमा बर्षमा दुई पटक चरा गणना हुँदै आए पनि सूचक प्रजातीको रुपमा रहेको मगर गोहीको गणना भने हुन सकेको छैन् ।

घोडाघोडी सिमसार क्षेत्र रामसार साइडमा सूचीकृत भइ संरक्षणका कार्यक्रम हुँदै आएपछि मगर गोहीको संख्या बढ्दै गएको अनुमान गरिएको छ । डल्फिन संरक्षण केन्द्रका कोषाध्यक्ष तथा चराविद् हिरुलाल डंगौराले चरा गणना हुँदै आए पनि मगर गोही गणना अहिलेसम्म हुन नसकेको बताउनुभयो ।

उहाँले चरा गणनाका क्रममा आफूले आठ वटा वयस्क मगर गोही तालमा देखेको बताउनुभयो । उहाँले एउटा वयस्क मगर गोहीले ३० देखि ३५ वटासम्म अण्डा दिने बताउनुभयो ।

चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले गत हप्ता नेटवर्कको नेतृत्वमा सूचक प्रजातीको गणना भएको जनाउँदै तालमा गर्मी मौसम भएकाले खासै धेरै मगर गोही नदेखिएको बताउनुभयो । उहाँले घोडाघोडी, ओजुवालगायत तालमा सात वटा गोही देखिएको जनाउँदै गर्मी मौसममा गोही पानीभित्रै बस्ने भएकाले पनि एकिन गणना हुन नसकेको बताउनुभयो ।

गर्मी मौसममा मगर गोहीले अण्डा पार्ने र बच्चा कोरल्ने भएकाले बालुवा भएको ठाउँ खोज्ने गर्दछन् । नेटवर्कका सचिव चौधरीले घोडाघोडी तालका मगर गोही केही तालमा व्यवस्था गरिएको प्रजनन् केन्द्रमा अण्डा पार्ने भए पनि कतिपय नजिकका डोडा, कौवा नदीमा समेत अण्डा पार्न जान सक्ने बताउनुभयो ।

ताल बाहिर गई अण्डा दिने गर्नाले  मगर गोहीका बच्चाहरु खेतबारी, कुलोमा समेत भेटिने गरिएका छन् । विगतमा विभिन्न ठाउँबाट उद्धार गरी गोहीका बच्चा घोडाघोडी तालमा छोड्ने गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend