logo
  • आइतबार, असोज १८ २०८३

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ३१ २०८१

वीरगञ्ज (पर्सा),  जेठ ३१ गते ।अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले  तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताउनुभयो ।

महानगरका विद्यालयलाई बिहान १०ः३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिएको थियो तर उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि कक्षामा विद्यार्थी मुर्छित भएपछि  थप तीन दिन गर्मी बिदा दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गतेको बैठकले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मीबिदा दिएको थियो ।  महानगरमा ९२ वटा सामुदासियक र एक सय ३८ निजी विद्यालय सञ्चालित छन् । यहाँ सामुदायिकतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।

बुधबार वीरगञ्जको अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको थियोभने अहिले यहाँको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले गत मङ्गलबार विशेष बुलेटिन निकालेर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको जनाएको थियो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend