पब्लिक सूचना
सुलीकोट, जेठ २९ गते। गोरखाको अजिरकोट गाउँपालिकामा ढाका बुनाई तालिम सम्पन्न भएको छ।गाउँपालिका भित्र रहेका बेरोजगार महिलालाई सीप प्रबद्र्धन गरी स्वारोजगार गर्ने उदेश्यले ढाका बुनाई तालिम दिइएको गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो।
उहाँका अनुसार गत फागुन महिनामा २३ जना महिलालाई आधारभूत तालिमको व्यवस्था पछि मात्र संघीय सरकारको ५० लाख बजेट विनियोजनबाट ढाका बुन्ने मेसिन र तान गाउँपालिकामा ल्याएर चैत २८ गतेबाट जेठ २८ गतेसम्म दुई महिने एडभान्स तालिम दिएपछि २३ जना महिला दिदी बहिनीले साडी, टोपी, पछ्यौरी, कुर्था र पटुका लगायतका कपडा बुन्नसक्ने भएको उहाँले बताउनुभयो।
महिलालाई स्वारोजगार तथा सीप प्रबद्र्धन गर्न गाउँपालिकाले ढाका उद्योग निर्माणका लागि २० लाख बजेट व्यवस्थापन गरेको छ।गाउँपालिका अन्र्तगत रहेर ढाका उद्योग सञ्चालन हुने तयारी अन्तिम चरणमा भएकाले गाउँपालिकाले महिलाको आयआर्जनमा वृद्धि हुने विश्वास लिइएको छ ।

गाउँपालिकामा ढाका उद्योग सञ्चालन भएपछि उद्योगबाट उत्पादित साडी, पछ्यौरा, टोपी, कुर्था र पटुका केही उद्योगबाट बिक्री गर्ने र केही गाउँपालिकाको कोसेली घरबाट बिक्री गर्ने तथा गोरखा सदरमुकामदेखि चितवन पोखरासम्म बिक्री गर्ने योजना रहेका गाउँपालिकाका उपाध्यक्ष भुजेलले बताउनुभयो।
गोरखामा ढाकाका कपडा अत्याधिक मात्रामा माग भए बमोजिम बेरोजगार महिलालाई लक्षित गरी फुर्सदको समयमा आफूले सिकेको सीपबाट आम्दानी गरी आफूलाई चाहिने खर्च आफै जुटाउन सक्ने बनाउन गाउँपालिकाले ढाका बनाउनी सीप सिकाई ढाका उद्योग सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend