logo
  • शनिबार, असोज १७ २०८३

भक्तपुर बहुमुखी क्याम्पसमा विवाद , क्याम्पस नखुल्दा विद्यार्थी मारमा

क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेल


  • दर्पन घिमिरे
  • सोमबार, जेष्ठ २९ २०८०

दुई क्याम्पस प्रमुख रहेपछि भक्तपुरकै सबैभन्दा पुरानो भक्तपुर बहुमुखी क्याम्पस  भक्तपुरमा विवाद भएको छ। दुई क्याम्पस प्रमुखको हानथापले पूरै क्याम्पस अस्तव्यस्त बनेको छ।

क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले चैत ३० गते अनिवार्य अवकाश पाएका थिए। तत्कालीन क्याम्पस प्रमुखको अनिवार्य अवकाश पश्चात् त्रिविले वरिष्ठताको आधारमा भन्दै सहायक क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई निमित्त क्याम्पस प्रमुखमा वैशाख ३ गते नियुक्ति गरेको थियो।

त्रिवि कार्यकारी परिषद्ले सहप्राध्यापक शाक्यलाई निमित्त क्याम्पस प्रमुखको हैसियतमा जिम्मेवारी दिएको करिब डेढ महिनामा जेठ १६ गते अर्की सहप्राध्यापक कविता लुइँटेल भट्टराईलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गर्‍यो । सोही अनुसार गत आइतबार लुइँटेल नियुक्ति पत्र लिएर क्याम्पस पुगिन्। निमित्त क्याम्पस प्रमुख शाक्य काम गरिरहेकै बेला नवनियुक्त क्याम्पस प्रमुख सह–प्राध्यापक लुइँटेल भट्टराई प्रवेशपछि लफडा सुरु भएको हो।

सोही विवादका कारण नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले  तालाबन्दी गर्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुन्ड्याएका छन् । क्याम्पसका केही प्राध्यापकसमेत जुनियरलाई प्रमुख बनाइएको भन्दै विरोधमा उत्रिएको नेविसंघका सचिव दीप गिरीले जानकारी दिए ।

क्याम्पस प्रमुख नियुक्ति सच्याउन माग गर्दै संघले क्याम्पस प्रमुख, लेखा शाखा र प्रशासनमा तालाबन्दी गरेको हो । नियमित पठनपाठको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरिएकाका कारण करीव चार सय विद्यार्थी अलपत्र छन् । कलेजमा तालाबन्दी गरिए पनि कलेज प्रशासनले कुनै चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुखको पुतला दहन र आगजनीसमेत गरेका थिए ।

विद्यार्थीले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन र तालाबन्दी जारी रहने बताएका छन् । कलेजको शैक्षिक, आर्थिक र व्यवस्थापकीय सुधारको माग गर्दै लामो समयदेखि विद्यार्थी आन्दोलित हुँदै आएका छन् । क्याम्पस प्रशासनले तालाबन्दी खुलाउन पटक पटक प्रयास गरे पनि सफल हुन नसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend