logo
  • शनिबार, असोज १७ २०८३

संरक्षणको पर्खाइमा कोटगढी


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ २९ २०८१

सुलीकोट, जेठ २९ गते । गोरखाको पालुङटार नगरपालिका – १० मिरकोटमा रहेको ऐतिहासिक मिरकोट कोटगढी संरक्षणको पर्खाइमा रहेको छ । बाइसे चौबिसे राज्यहरू भएका बेलामा राजाहरूले आफ्नो किल्लाको रूपमा प्रयोग गर्दै आएको ऐतिहासिक ठाउँ कोटगढी संरक्षणको पर्खाइमा रहेको हो ।

तत्काल बाइसे चौबिसे राज्यका राजाहरूले राजागद्यी रहेको ऐतिहासिक ठाउँ गढीमा अहिले पनि तत्कालिनकान राजाका सिपाहीहरू बस्ने प्रशस्त ठाउँहरू रहेका छन् । मिरकोट कोटगढी समुन्द्री सतहबाट १२०० सयको मिटरको उचाइमा रहेको छ । गोरखा जिल्ला आफैमा एक एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित भएको छ ।

त्यसमध्ये तत्कालीन मिरकोट गाविसको सुन्दर र रमणीय ठाउँ कोटगढी आफ्नो छुट्टै महत्त्व बोकेको छ । जहाँबाट १ दर्जन भन्दा बढी हिमाल, जिल्लाका लगभग सबै भूभागहरू त्यस ठाउँबाट अवलोकन गर्न पाइने भएकाले त्यस ठाउँ राजाहरूको रोजाइमा पर्ने गरेको हुन सक्ने पालुङटार – १० बुद्धिजीवी प्रेम खत्रीको बुझाई छ ।

उहाँका अनुसार त्यस कोटगढी नजिकै सोह्रै शताब्दीमा निर्मित विश्वेश्वर महादेब मन्दिर, थानीमाईको मन्दिर, प्रसिद्ध लकाङकाली मन्दिर पनि पनि त्यस ठाउँ रहेकाले पनि तत्कालीन राजाहरूको रोजाइमा पर्ने गरेको हुन सक्ने उहाँले बताउनु भयो ।

तत्कालीन राजाहरूले आफ्नो कुल देवताको रूपमा पुज्ने लकाङकाली मन्दिरमा गणेश  तथा कालिकाको मूर्ति शिलाहरू त्रिशूल घण्टा सहजै देख्न पाइन्छ । त्यसै मन्दिर वरिपरि राजाहरूको सुरक्षाको लागि फराकिलो एंबम गहिरो गढी पनि खनिएको छ ।

त्यस ठाउँलाई जिल्लाकै पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्नु पर्छ भन्ने उद्देश्यका साथ केही युवाहरू दिन रात नभनी लागे पनि बजेट अभावले त्यस ठाउँको भौतिक संरचना देखि पूर्वाधार सम्म पुर्याउन नसक्दा पर्यटकहरूको कमी हुन गएको हो ।

अहिले त्यस गढीमा बाटो, बत्ती, खानेपानीको चरम अभाव रहेको छ । सम्बन्धित निकायको बेलैमा ध्यान जान सकेमा गोरखाको महत्त्वपूर्ण पर्यटकहरूको गन्तव्यकाे रूपमा कोटगढी बन्न सक्छ । त्यस ठाउँमा पुग्न समय लागेता पनि त्यहाँ पुगेपछि थकाई,भोक, प्यास मेटिने र आनन्दको अनुभूति हुने गरेको आन्तरिक पर्यटक उत्तम आचार्यले जानकारी दिनुभयो ।

त्यसलाई पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्नका लागि वडा कार्यालय र नगरपालिकाको कार्यालयको बजेटले केही मात्रामा सुधार गरे तापनि पूर्ण रूपमा विकास गर्न नसकेको पालुङटार नगरपालिकाको कार्यालयले जनाएको छ ।

त्यस ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पालुङटार नगरपालिकाको ८१ औ नगर कार्यपालिकाको बैठक गत महिनामा त्यसै ठाउँमा सम्पन्न गरेर सन्देश दिन खोजेको नगरप्रमुख विवश चिन्तनले बताउनुभयो । त्यस ठाउँलाई संरक्षण तथा विकासको लागि प्रदेश सरकार र सङ्घीय सरकार सँग विशेष पहल भइरहेको पालुङटार नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend