पब्लिक सूचना
काठमाडौं, असार ११ गते। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको हो। उहाँले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताउनुभयो। उहाँले सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट व्यवस्थापन गर्ने पनि बताउनुभयो।
उहाँले भन्नुभयो , ‘धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण प्रक्रिया अगाडि बढाएको यो रङ्गशालाको निर्माण कार्य अधुरो छ। यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ। यसको निमित्त शीर्षक हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ। सरकारले यो स्वामित्व ग्रहण गर्ने त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रङ्गशालालाई सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको कुरा म अनुरोध गर्न चाहन्छु।’’
उहाँले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताउनुभयो। त्यस्तै खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद सङ्घहरूलाई दुई लाख ५० हजारको दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको बताउनुभयो। मन्त्री लिम्बुले खेलकुद बीमाको नीति तयार गर्न प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend