पब्लिक सूचना
काठमाडौंको दक्षिणकालीमा पुरूष र महिला मृत फेला परेका छन्।
दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारीस्थित भिरमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सरिता राई मृत फेला परेको प्रहरीले जनाएको छ।
बुधबार साँझ भिरमा दुई जनाको शव रहेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय फर्पिङले घटनास्थललाई सुरक्षित राखेको थियो।
प्रहरी वृत्त कीर्तिपुरबाट अनुसन्धान अधिकृतको टोली पुगेर अनुसन्धान अघि बढाएको थियो। मुचुल्काको काम सकेसँगै बिहीबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको टोली बोलाइएको थियो।
सडकबाट करिब दुई सय मिटर तल भिरमा अड्किएको दुवै शव बिहीबार बिहान १० बजे निकालिएको एसपी अधिकारीले बताए।
घटनास्थलमा प्रदेश ३- ०२-००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि फेला परेको थियो। खनाल र राईको केही दिन अघि नै मृत्यु भएको हुनुपर्ने प्रहरीको भनाइ छ। कसरी मृत्यु भएको भन्नेबारे खुलिसकेको छैन।
घटनाबारे परिसर र प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend