logo
  • शनिबार, असोज १७ २०८३

ह्युस्टन हुरिकेनविरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ १३ २०८१

आइसिसी टी-२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेको नेपाली टोली दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ।

आइतबार बिहान ह्युस्टन हुरिकेनविरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी भएको हो।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएको थियो।

जबाफी ब्याटिङमा ह्युस्टन १८.३ ओभरमा अल आउट हुँदा ९६ रन मात्रै बनाउन सक्यो।

यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो।

त्यतिबेला नेपालले १४७ रनको लक्ष्य दिएको खेलमा ह्युस्टनले ८ विकेट गुमाएर १४० रन मात्रै बनाएको थियो।

नेपालले भोलिदेखि औपचारिक अभ्यास खेल खेल्नेछ। भोलि क्यानडा र जेठ १७ मा अमेरिकासँग खेल्नेछ।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।

विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend