पब्लिक सूचना
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि पौने ३ अर्बको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले आगामी वर्षको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।
आगामी वर्षको बजेट चालु वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो। चालु आर्थिक वर्षको लागि तिलोत्तमाले २ अर्ब ७ करोड ७८ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। उपप्रमुख चौधरीले आगामी वर्षका लागि भवन, शहरी विकास र पुर्वाधारलाई मुख्य प्राथमिकता दिँदै बजेट प्रस्तुत गरेकी हुन्।
पौने ३ अर्बको कुल बजेटमा भवन, शहरी विकास र पूर्वाधारमा मात्रै १ अर्ब ९५ लाख बजेट बिनियोजन गरिएको छ। बजेटले शिक्षा, स्वास्थ्य र कृषिलाई पनि जोड दिएको छ। बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिंचाईमा ३ करोड २३ लाख ५१ हजार विनियोजन गरिएको छ।
यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजारको बजेट प्रस्तुत गरिएको छ। नगर उपप्रमुख चौधरीले नगरबासीको विकासको उत्कृष्ट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासका लागि बजेट तयार पारिएको बताइन्।
विगतका वर्षहरूमा तिलोत्तमाले स्थापित गरेको आफ्नो पहिचानलाई थप उचाइँमा पुर्याउने गरी बजेट विनियोजन गरिएको उनले बताइन्।
यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार ५ सय २९ रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजनिक गरिएको हो। बजेटमा आन्तरिक आयतर्फ अपेक्षा गरिएको रकम चालु आर्थिक वर्षको भन्दा ६६ लाख बढी हो।
उपप्रमुख चौधरीले आगामी वर्षको लागि अधिकांश करको दर यथावत् राखिएको र कतिपय छुटेका क्षेत्रलाई करको दायरामा ल्याइएको बताइन्। तेस्रो अधिवेशनको शनिबार बसेको पहिलो बैठकमा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम सर्वसम्मतले पारित गरेको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend