logo
  • शनिबार, असोज १७ २०८३

सुनसरीको इटहरी उपमहानगरपालिकाको बजेट दुई अर्ब ३५ करोड


  • पब्लिक सूचना
  • आइतबार, असार १० २०८०

सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आइतबार १३ औं नगरसभामा उपप्रमुख संगिताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन्। उपमहानगरले १० वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकेको छ।

जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमुख चौधरीले उल्लेख गरेकी छन्। अरु बाँकी १० वटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ।

इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्ब १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो।

उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ। इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्न पनि बजेट छुट्याएको छ।

यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी कोशी प्रदेशको महानगरउन्मुख सहर हो। यहाँ इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटी स्क्यान, भिडिओ एक्सरे तथा आइसियु भेण्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरी सेवा सञ्चालान गर्न बजेट छुट्याएको उपप्रमुख चौधरीले उल्लेख गरिन्।

शिक्षाको भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धिलाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयहरूलाई नमुना विद्यालयका रूपमा रूपान्तरण गर्न बजेट बिनियोजन गरिएको छ। विद्यार्थीहरूलाई अनिवार्य रूपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि बजेट छुट्याइएको छ। इटहरीमा रात्रिकालिन बजार सञ्चालन गरिने भएको छ।

आगामी आर्थिक वर्षका लागि उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरी स्ट्रिट लाइट जडान गर्न पनि बजेट छुट्याइएको छ। प्रत्येक वडामा एक वडा स्तरीय खेल मैदान निर्माण गर्ने र प्रत्येक वडामा खुल्ला व्यामशाला निर्माण गर्न बजेट बिनियोजन गरिएको छ।
उपमहानगरपालिका भित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरि ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्न बजेट छुट्याएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend