पब्लिक सूचना
निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत् धुलिखेल खावा सडक मंगलबार र बुधबार दिउँसो चार घन्टा रोकिने भएको छ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्ड पूर्णरूपमा बन्द रहने काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
‘जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकमा बसेको सम्पूर्ण सरोकारवालासँगको बैठकको निर्णयानुसार सडक डिभिजन भक्तपुर अन्तर्गत निर्माणाधीन अरनिको राजमार्ग (धुलिखेल–खावा ४ किमि सडक खण्ड) मा निर्माण कार्य गर्न जेठ ८ र ९ गते बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म जम्मा ४ (चार) घन्टा सबै किसिमका यातायात (दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारी साधन बाहेक) सञ्चालन पूर्ण रूपमा बन्द रहने हुँदा सोही बमोजिम गर्नु/गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ।
जिल्ला प्रशासन कार्यालयले त्यस अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न पनि भनेको छ।
काठमाडौं बनेपा हुँदै पाँचखालतर्फ जाने साना सवारीसाधनहरू होराइजन होटल–आगन्तुक होटल (गोसाइस्थान मार्ग)– रविओपी हुँदै पाँचखाल पुग्न सक्नेछन्।
त्यस्तै साना सवारी साधनहरू बनेपा–चारदोबाटो– रविओपी हुँदै पाँचखाल पुग्न सक्नेछन्।
बिपी राजमार्ग– तिनपिप्ले– पाँचखाल पुग्ने पनि वैकल्पिक बाटो रहेको छ। सो सडक खण्डमा साना सवारी चलाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
साना सवारी साधनहरूले नगरकोट–कुन्तावेसी– जिरोकिलो सडक पनि प्रयोग गर्न सक्नेछन्।
दोलालघाट पाँचखाल हुँदै काठमाडौं तर्फ जाने सवारीसाधनहरूले जिरो किलो– कुन्तावेशी नगरकोट सडक प्रयोग गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले बताएकाे छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend