logo
  • शनिबार, असोज १७ २०८३

आँप उत्पादनमा वृद्धि हुने


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ ४ २०८१

नेपालगन्ज, जेठ ४ गते । बाँकेमा यस वर्ष आँपको उत्पादन क्षेत्रफल केही घटेको भए पनि आँप उत्पादनमा भने वृद्धि हुने भएको छ ।

यस वर्ष विगतका वर्षहरुभन्दा आँपको रुखमा धेरै बढी फूल फुलेको देखिएकाले क्षेत्रफल घटेपनि विगतभन्दा बढी उत्पादन हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका कृषि विज्ञ जीवनकुमार केसीका अनुसार चालु आर्थिक वर्षमा बाँकेमा आँप उत्पादित क्षेत्रफल ९४५ हेक्टर रहेकोमा सो क्षेत्रफलमा आठ हजार ३२५ मेट्रिक टन आँप उत्पादन हुने बताउनुभयो ।

उहाँले गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा आँप उत्पादित क्षेत्रफल ९६० हेक्टर रहेकोमा सात हजार ९०५ मेट्रिक टन आँप उत्पादन भएको जनाउँदै यो वर्ष करिब १५ हेक्टर क्षेत्रफल घटेपनि उत्पादन भने ४०० मेट्रिक टनभन्दा बढी वृद्धि हुने देखिएको बताउनुभयो ।

आँप उत्पादन गर्ने किसानले केही पुराना बुटाहरु उखेलेर फालेको र नयाँ तयार नभएकाले करिब १५ हेक्टर क्षेत्रफल यस वर्ष घटेको हो ।

गत आर्थिक वर्षमा प्रति हेक्टर ८.५ मेट्रिक टन आँप उत्पादन भएकोमा यस वर्ष फूल धेरै राम्रो आएकाले प्रति हेक्टर नौ मेट्रिक टन उत्पादन हुने देखिएकाले ४०० मेट्रिक टनभन्दा बढी उत्पादन हुने देखिएको कृषि विज्ञ केसीले बताउनुभयो ।

उहाँले प्रदेशबाट १० हेक्टर क्षेत्रफलमा आँपखेती विस्तार गर्ने भनेर नयाँ योजना आएकोमा कसैको पनि आवेदन नपरेपछि सो योजना लागू हुन नसकेको बताउनुभयो ।

कृषि विज्ञ केसीका अनुसार बाँकेको जानकी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानगरको भवनियापुर, हिरमिनिया र पुरैना, पुरैनीमा बढी आँप उत्पादन हुने गरेको छ ।

आँपको फूलमा किरा लागेमा धेरै नोक्सानी हुने भएकोले यस वर्ष सो किराबाट जोगिन पहिलेदेखिनै नै किसानलाई सचेत रहन आग्रह गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

पानीका कारण केही दिनमा फूलहरु कालो भएर झर्ने हुन सक्ने सम्भावना रहेकाले प्रावधिकको सल्लाह बमोजिम आँपको उपचारमा लाग्न पनि किसानलाई सुझाव दिइएको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमद खाँले बताउनुभयो ।

‘‘यो समयमा फड्के किराले फूल झार्ने भएकाले अहिलेबाटै सबै आँप उत्पादक किसानले सचेत हुन जरुरी छ ।’’ प्रमुख खाँले भन्नुभयो ।

बाँकेमा वार्षिक आठ हजार मेट्रिक टन आँप उत्पादन भए पनि खपत र माग करिब २० हजार मेट्रिक टनभन्दा बढी रहेकाले अझै पनि धेरै आँप भारतबाटै आउने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend