पब्लिक सूचना
नेपाल आयल निगमले मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइनमार्फत ग्यास ल्याउने योजना अघि बढाएको छ।
मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्नेबारे निगममा छलफल भइरहेको मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार परियोजना प्रमुख प्रदिप यादवले जानकारी दिए।
‘पाइपलाइन विस्तार गर्ने निधो भइसक्यो। कार्यकारी निर्देशक ज्यूसँग कुरा गरेर यसलाई चाँडै अघि बढाउँछौं,’ उनले भने।
मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न इण्डियन आयाल कर्पोरेशनले इञ्जिनियरिङ सर्भे प्रतिवेदन तयार गरेर एक वर्ष अघि नै नेपाल आयाल निगमलाई दिएको थियो।
प्रतिवेदन आए पनि योजना अघि बढेको थिएन। नयाँ कार्यकारी निर्देशक आएसँगै यो परियोजनालाई निरन्तरता दिन खोजिएको हो।
इण्डियन आयल कर्पोरेशनले दिएको प्रतिवेदन अनुसार मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरेको छ। सो लगानी साढे दुई वर्षमै उठ्ने यादब बताउँछन्।
‘ग्यास पाइपलाइन विस्तार भएमा ग्यास ढुवानी बापत हुने खर्च बचत हुन्छ। पाइपलाइनमार्फत ग्यास आउन थालेपछि यहाँका व्यवसायीले आफ्नै बुलेटबाट ग्यास ढुवानी गर्छन्। यसबाट निगमलाई चार अर्ब र व्यवसायीलाई दुई अर्ब बचत हुन्छ,’ उनले भने।
सन् २०२४ जनवरीबाट इन्डियन आयल कर्पोरेशन (आइओसी) ले मोतिहारीमा पाइपलाइनबाट ग्यास ल्याउन सुरू गरिसकेको छ। सर्लाहीमा निगमले ग्यास प्लान्ट बनाउन करिब १६ बिगाहा जमिन किनिसकेको छ।
त्यहाँ तीन/तीन हजारका दरले कुल १५ हजार मेट्रिक टन क्षमताको तीन वटा ट्यांकी बन्नेछ। यसमा एक पटकमा ८ वटा बुलेट लोड गर्न सकिने यादवको भनाइ छ।
यहाँ महिनामा ३१ लाख सिलिण्डर खपत हुँदै आएको छ। यो भनेको ४५ हजार ६ सय मेट्रिक टन ग्यास हो। यस हिसाबले वार्षिक पाँच लाख ४७ हजार दुई सय मेट्रिक टन ग्यास खपत हुन्छ।
हाल मोतिहारी–अमलेखगञ्ज पाइपलानमार्फत डिजेल आइरहेको छ। उक्त पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल ल्याउन पनि निर्माण कार्य भइरहेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend