पब्लिक सूचना
सत्तारूढ नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरू हुँदैछ।
ललितपुर गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे महाधिवेशन परिषद् बैठकको उद्घाटन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
प्रतिनिधि परिषद् महाधिवेशनपछिको सर्वोच्च निकाय हो। दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी हुनेछन्।
जसमा राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरू दुई हजार ७३ जना छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनीत गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना र आयोजक गरी दुई हजार ४५४ पुगेको प्रचार विभाग प्रमुख गौतमले बताए।
आइतबारसम्म चल्ने बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै अनुशासन, लेखा, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
मोबाइल एपमा दस्तावेजहरू राखिने र त्यहीँबाट छलफल गर्न सकिने व्यवस्था मिलाइएको महासचिव पोखरेलले जानकारी दिएका छन्।
त्यसका अतिरिक्त प्रतिनिधिको नाम दर्ता र ओपिनियन पोलको समेत व्यवस्था गरिएको महासचिव पोखरेलले जानकारी दिएका छन्।
परिषद् बैठकमा सहभागी प्रतिनिधिहरूलाई समूहमा विभक्त गरेर छलफल गरिने पनि पोखरेलले बताएका छन्।
महाधिवेशन प्रतिनिधि परिषद्ले केन्द्रीय कमिटीलाई निर्देशनसमेत दिन सक्ने निकाय भएकाले सोही अनुसार बैठकले निचोड निकाल्ने पनि महासचिव पोखरेलले जानकारी दिएका छन्।
यसैबीच एमालेले वैशाख १० गते नेकपा स्थापनाको ७५ औं वर्ष पूरा भएको सन्दर्भमा हीरक महोत्सव आयोजना गर्दैछ।
महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नेछन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend