पब्लिक सूचना
फेसबुकमा ‘एलेक्स बेन्जामिन’ नामका पुरुषले कीर्ति खड्का (नाम परिवर्तन) लाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । विदेशी नागरिकको नामबाट आएको ‘रिक्वेस्ट’ उनले स्वीकार गरिन् ।
बिस्तारै कीर्ति र बेन्जामिनबिच कुरा हुन थाल्यो । टर्कीको नागरिक हुँ भनेर बेन्जामिनले कीर्तिलाई भने । आत्मीयता बढाउँदै बेन्जामिनले कीर्तिलाई आइफोन, घडी, जुत्ता, सुनका गहना र मेकअपको सामानसहितको लगेज पठाइदिने बताए । पठाउन लागेको भनिएका सामानको तस्बिर पठाउँदै उनले भने, ‘कुरियरको मान्छेले सम्पर्क गर्छ ।’
त्यसको केही दिनपछि ‘कुरियरबाट बोलेको हुँ’ भन्दै कीर्तिलाई फोन आउन थाल्यो । कुरियरबाट फोन गर्नेले उनलाई भन्यो, ‘सामान महँगो रहेछ, कस्टम चार्ज डिपोजिट गर्नुस् ।’
ती व्यक्तिले भनेबमोजिम रकम कीर्तिले डिपोजिट गर्दै गइन् । ७ लाख डिपोजिट गरेपछि बेन्जामिन सम्पर्कविहीन भए । कुरियरबाट फोन गर्नेले पनि सम्पर्क गर्न छाड्नुका साथै उनको नम्बर ब्लक गरिदिए ।
त्यसपछि कीर्ति प्रहरीकहाँ पुगिन् । प्रहरीले गरेको अनुसन्धानबाट थाहा भयो फेसबुकमा एलेक्स बेन्जामिनको नामबाट कुरा गर्ने व्यक्ति सप्तरी घर भएकी सुजता चौधरी पो रहिछन् ।
ललितपुर प्रहरीको फरार सूचीमा रहेकी सुजतालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित ईमाडोल बस्ने सुजताले अर्की महिलालाई पनि ठगेको अनुसन्धानबाट खुलेको छ । सुजताले अर्की महिलालाई पनि सामान पठाएको बहाना बनाएर कस्टम चार्ज बापत १ लाख ३५ हजार पठाउन लगाएर ठगेको एसपी रेग्मीले जानकारी दिए ।
पछिल्लो समय अनलाइन माध्यमबाट हुने ठगी बढेको छ । २०८० साउन पछिको चार महिनाको अवधिमा काठमाडौँ उपत्यकामा मात्रै ५ सय ९ जना अनलाइन माध्यमबाट ठगिएका छन् । ५०९ जनाले चार महिनामा ९ करोड ५४ लाख रकम गुमाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

स्रोत : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend