पब्लिक सूचना
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक मुक्ति’ का नाममा आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्।
बैंक तथा लघुवित्तका ऋण मिनाहा गरिदिने आश्वासन दिँदै प्रसाईंले देशका विभिन्न क्षेत्रका मानिसहरूलाई काठमाडौं ल्याएका छन्। २० लाख रूपैयाँभन्दा सानो सबै ऋण माफ गर्नुपर्ने उनको माग छ। प्रसाईं आफैंले गत चैतदेखि बैंकको साँवा-ब्याज तिरेका छैनन्।
प्रसाईंले आठवटा बैंकबाट साढे पाँच अर्ब रूपैयाँभन्दा धेरै ऋण लिएका छन्। सो ऋणको साँवा-ब्याज बुझाउन गाह्रो परेदेखि उनी सडकमा उत्रिन थालेका हुन्।
उनले समयमै ऋण तिर्न नसकेका ऋणीहरूलाई आकर्षक नारा दिएर आफ्नो अभियानमा तानेका छन्।
बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र ‘तानाशाही’ शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डा भएको प्रसाईंले बताउने गरेका छन्।
प्रसाईंले अघि सारेका राजा तथा धर्मका मुद्दा संसदको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्षौंदेखि बोकिरहेको एजेन्डासँग मेल खान्छ। पार्टीका कतिपय एजेन्डा बोकेर प्रसाईंले आन्दोलन घोषणा गरेपछि राप्रपाभित्र प्रसाईंको अभियानलाई समर्थन गर्ने कि विरोध भन्ने दुबिधा छ। राजतन्त्रको आफ्नो एजेन्डा प्रसाईंले ‘हाइज्याक’ गर्न लागेको भनेर पीर गर्ने पनि राप्रपामा छन्।
‘कसैले पनि गर्ने जनअभियान, प्रदर्शन, संघर्षमा राप्रपाका कार्यकर्ताहरूको सहानुभूति र समर्थन हुनु स्वाभाविक हुन आउँछ। अत: मंसिर ७ मा हुने प्रदर्शनमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ। यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो धारणा छ,’ उनले भनेका छन्।
प्रसाईंको कार्यक्रमलाई समर्थन गर्नुपर्ने धारणा राखे पनि पार्टीले संस्थागत निर्णय गरेन नि भन्ने हाम्रो प्रश्नमा मिश्रले भने, ‘यसो गर्नुस् न, तपाईं प्रवक्ताजीसँगै कुरा गर्नुस्।’
आफूले लामो समयदेखि सामाजिक सञ्जालमै यी विषयबारे धारणा राखेको र त्यहीँबाट कुराहरू लिन उनले आग्रह गरे।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रमलाई लिएर पार्टीले संस्थागत निर्णय नगरेको बताए।
‘पार्टीले यो विषयमा संस्थागत निर्णय केही गरेको छैन। हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा उठाएर हिँड्ने प्रमुख शक्ति राप्रपा हो। दुर्गा प्रसाईंले मात्र होइन जो-सुकैले यो मुद्दा उठाउँदा राप्रपालाई सन्तोष र गर्व अनुभूति हुन्छ,’ श्रेष्ठले भने, ‘निःस्वार्थ ढंगबाट यो मुद्दा उठाउनेहरूलाई शुभकामना छ।’
प्रसाईंको कार्यक्रमलाई सहयोग गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीका पछिल्ला बैठकमा छलफल भने भएको उनले बताए।
‘स्वाभाविक रूपमा पार्टीका बैठकमा यस्ता विषयमा छलफल हुन्छन् नै। तर धर्म र राजाको एजेन्डा राप्रपाको हो। राप्रपाले कठिन दिनमा यी मुद्दा उठान गर्दै आएको हो। राप्रपाले यो मुद्दा जीवितै राखेको थियो र आज दुर्गा प्रसाईंले बोकेर हिँडेका छन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रसाईं मात्र होइन, जो-कोहीले यो मुद्दा उठाउँदा राप्रपालाई सन्तोष हुन्छ।’
उनले यस्ता कार्यक्रमहरूमा नेतृत्व तहका नेताहरू सहभागी नभए पनि कार्यकर्ताहरू सहभागी हुन सक्ने तर्क गरे।
प्रसाईंको आन्दोलनलाई समर्थन गर्नुपर्ने धारणा कतिपय नेताले सामाजिक सञ्जालबाट राखेपछि त्यसबारे पनि राप्रपामा केही मतभिन्नता देखिएको छ।
पार्टीले कुनै निर्णय नै नगरेका विषयमा नेताहरूले सामाजिक सञ्जालबाट धारणा नराखेको भए उपयुक्त हुने श्रेष्ठले पनि बताए।
‘पार्टीका जिम्मेवार नेताहरूले पार्टीको संस्थागत निर्णयबिनै सामाजिक सञ्जालबाट अभिव्यक्ति नदिएको भए हुन्थ्यो,’ श्रेष्ठले यति मात्रै भने।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंको आन्दोलनबारे सार्वजनिक रूपमा खासै टिप्पणी गरेका छैनन्।
अध्यक्ष लिङ्देनको धारणा के हो भन्नेबारे श्रेष्ठले उनले नजिकबाट परिस्थिति नियालिरहेको बताए।
‘अध्यक्षज्यूले यस्ता कार्यक्रमलाई नजिकबाट हेरिरहनुभएको छ, पर्ख र हेरकै अवस्थामा छौं,’ श्रेष्ठले भने, ‘प्रसाईंले राप्रपा र नेतृत्वलाई नै सार्वजनिक रूपमा गाली गरिरहेका छन्, अनि कसरी उनलाई समर्थन गर्न सकिन्छ?’
अध्यक्ष लिङ्देनले गत कात्तिक २३ गते निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुराकानी गरेका थिए। त्यस दिन प्रसाईंले गर्ने भनेको काठमाडौंको कार्यक्रम र झापामा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रमलगायत विषयमा छलफल भएको थियो।
त्यसपछि लिङ्देनले पार्टीका नेताहरूसँग पूर्वराजासँग भएका कुराबारे बिफ्रिङ गरेका थिए। पूर्वराजाको चासो काठमाडौंको कार्यक्रमभन्दा पनि झापाकै कार्यक्रममा रहेको संकेत पाएपछि लिङ्देन कात्तिक २५ गते झापा गए। उनी अहिले पनि उतै छन्। पार्टीको भूगोल केन्द्रित कार्यक्रममा पनि लिङ्देन सहभागी भइरहेका छन्। उनी बुधबार धरान पुगेका थिए।
‘अध्यक्षज्यू राजाको झापा भ्रमणलाई सफल बनाउन सम्पूर्ण पार्टीपंक्ति परिचालनमा व्यस्त हुनुहुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीको सांगठानिक गतिविधिमा पनि समय दिनुभएको छ।’
झापाको बिर्तामोडमा इकम कलेज उद्घाटन र पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्वराजा शाह मंसिर ९ गते त्यसतर्फ जाने कार्यक्रम छ। त्यसका लागि मेचीनगरबाट र्याली गर्ने तयारीमा राप्रपा छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend