logo
  • आइतबार, असोज १८ २०८३

युनिभर्सल मेडिकल कलेजकी प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति, विद्यार्थीको आन्दोलन फिर्ता


  • पब्लिक सूचना
  • मंगलबार, कार्तिक २१ २०८०

२१ कात्तिक, बुटवल । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको छ ।

ड्रेस कोडमा असहमति जनाउँदै सुरु भएको आन्दोलन पछिल्लो समय प्रिन्सिपलको राजीनामासम्म पुगेको थियो । असोज २२ गतेबाट सुरु भएको आन्दोलनका कारण कलेजमा पढाइ र अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पिएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु हुने जानकारी गराएका छन् ।

आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह-प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए ।

विद्यार्थीहरुले प्रिन्सिपल पाठकलाई पाँच दिनसम्म बन्धकसमेत बनाएका थिए । पछि प्रशासनले प्रिन्सिपल पाठकलाई उद्धार गरेको थियो । प्रिन्सिपल पाठकले भने राजीनामा नदिने अडान लिंदै आएकी थिइन् । जसले गर्दा आन्दोलन एक महिनासम्म लम्बिएको थियो ।

नयाँ ड्रेस कोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने मागमा स्थानीय प्रशासनको अगुवाइमा असोज २७ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा ड्रेस कोडको निर्णय हाललाई स्थगन गर्ने लिखित सम्झौता भएको थियो । तर, विद्यार्थीहरुले प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाएर आन्दोलन जारी राखेका थिए ।

विद्यार्थीहरु प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाइएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनमा थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend