logo
  • शनिबार, असोज १७ २०८३

बजेट संशोधन हुन्छ : रेखा शर्मा


  • पब्लिक सूचना
  • बिहिबार, असार ७ २०८०

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कानूनमा कतै पनि नलेखिएको बताएकी छन्।

 

 

मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बुधबार मन्त्री शर्माले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्ने कानूनमा कतै पनि नलेखिएको बताएकी हुन्।

उनले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरु आएको भन्दै उनले बजेटमा असन्तुष्टि जनाउनु स्वाभाविक भएको बताइन्। उनले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताइन्। उनले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा परम्परागत भएको उल्लेख गर्दै परम्परा तोड्नुपर्ने बताइन्।

उनले भनिन्, ‘बजेटमा यस्तो हुन्छ, यस्तो पहिला पनि भएको थियो। पहिला नेकपा हुँदा त्यो बेलाका अर्थमन्त्रीले कसरी बजेट प्रश्तुत गर्नुभएको थियो त्यो हामी सबैलाई थाहा छ। अहिले पनि बजेटमा सम्भवतः धेरैका असन्तुष्टि छन्। एउटा त सीमा हो, हामीसँग पैसा कम भयो। अर्को असन्तुलन भयो भन्ने पनि छ, त्यसका लागि छलफल भइरहेको छ। यसलाई मिलाएर जानुपर्छ भन्ने कुरा छ। बजेट संशोधन हुनु नै सरकार असफल हुनु हो भन्ने ढंगको यो परम्परागत हो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संशोधन भएको छ। बजेट संशोधन हुँदा सरकार ढल्छ भन्ने कुनै कानूनमा छैन।’

मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति लक्षित गर्दै स्टन्टभन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताइन्। उनले दक्षिण भारतीय फिल्म आदिपुरुषमा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएर मात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताइन्।

उनले भनिन्, ‘सेन्सर बोर्डले कुनै पनि चलचित्र चल्नुअघि सेन्सर गर्छ। सेन्सर बोर्डको नियमविपरीत भयो भने त्यसलाई हामी सेन्सर गरेरमात्रै अनुमति दिन्छौँ। यो विषयमा पनि जेठ ३१ मा यो आदिपुरुष भन्ने फिल्ममा भएको सीता भारतीय छोरी भन्ने आशयको अभिव्यक्ति हटाउने निर्णय त्यही बेलामा सेन्सर बोर्डले गरेको थियो। सेन्सर बोर्डले निर्णय गरेर मात्रै प्रदर्शनको स्वीकृति दिएको हो। चलचित्रको मूल भाग भारतमा पनि हटाउनुपर्छ र नहटाइ चल्न दिनु हुँदैन भन्ने कुरा हाम्रो कूटनीतिक सम्बन्ध कायम गर्नका लागि हाम्रो मन्त्रालय होइन, परराष्ट्र मन्त्रालय हो। चल्न दिने वा नदिने भन्नेमा सबैले आफ्ना आफ्ना क्षेत्राधिकार बुझ्नुपर्छ। भावनात्मक हिसाबले हामी सबै एकै ठाउँमा छौँ। स्टन्ट भावना र मनोविज्ञानमा खेल्नेभन्दा पनि यसको दीर्घकालीन समाधान खोज्नुपर्छ।’

फरक प्रसंगमा उनले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभइ स्वास्थ्य उपचारका लागि नै सिंगापुर गएको बताइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend