पब्लिक सूचना
काठमाडौँ । नेपाली कांग्रेस बझाङका पूर्व सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह आफ्नो गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएकोमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुःख व्यक्त गरेको छ । दुर्घटनामा सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको हो ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेस बझाङका पूर्व जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।
उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु । साथै, दुर्घटनामा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend