logo
  • शनिबार, असोज १७ २०८३

चाडपर्वका बेला बजारमा सुनको कारोबार साठी प्रतिशतले घट्यो


  • पब्लिक सूचना
  • आइतबार, असोज ७ २०८०

बजारमा सुनचाँदीको कारोबार ६० प्रतिशतले घटेर ४० प्रतिशतमा सीमित भएको छ । बजारमा सुनचाँदीको माग न्यून हुँदा कारोबारमा उल्लेख्य गिरावट आएको हो । अन्य समयमा न्यून कारोबार भए पनि सिजनका बेला बढ्ने गथ्र्यो तर यसपालि कारोबार घटेको छ ।

लगातार सुनको मूल्यमा भएको वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदीको कारोबार न्यून हुँदा पछिल्लो समय ४० प्रतिशतमा सीमित भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले सुनको कारोबारमा आधाभन्दा बढीले गिरावट आएको जानकारी दिनुभयो । उपभोक्तासँग क्रयशक्ति पर्याप्त नहुँदा सिजनको समय सुरु भए पनि सुनको कारोबार बढ्न नसकेको उहाँको भनाइ छ । लामो समयदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु र कारोबार नहुँदा सटर भाडा तिर्न नसकेपछि साना साना सुनचाँदी पसल बन्द पनि भएको बताउँदै उहाँले मूल्य बढ्दा तथा सुनको कारोबार नहुँदा व्यवसायी सटर भाडा तिर्न नकेपछि व्यवसाय परिवर्तन गर्ने र विदेशको जाने सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

तिजमा दैनिक ३० देखि ४० किलो सुन बिक्री हुने गरेको थियो, यसपालि दैनिक १० किलोभन्दा बढी बिक्री हुन नसकेको बताउँदै उहाँले बजारमा माग नै कम हुँदा सुनचाँदीको कारोबार हुन नसकेको बताउनुभयो । तिजको असर दसैँमा पनि देखाउन सक्ने उहाँले बताउनुभयो ।

बैङ्कको चर्काे ब्याजदरका कारण सुनसँगै अन्य व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न कठिन रहेको छ । चाडपर्वका बेला सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल यसपालि सुनसान देखिन्छन् । हाल सुन प्रतितोला एक लाख ११ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ ।

गत वर्ष असोज पहिलो साता सुन प्रतितोला ९१ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो । एक वर्षको अवधिमा सुनको मूल्य प्रतितोलामा झन्डै २० हजार रुपियाँले वृद्धि भएको छ । सुनको मूल्य बढ्दा स्थानीय बजारमा कारोबारमा समेत उल्लेख्य गिरावट आएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend