पब्लिक सूचना
काठमाडौँ, असोज ५ गते । चलचित्र ‘नाङ्गो गाउँ’ राजनीतिमा देखिने सही र गलत अभ्यासका कुराको सेरोफेरोमा बनाइएको कथा हो। चलचित्रको कथाले देशमा देखिएका विभिन्न राजनीतिक नेतृत्वको कामकाजलाई उठान गर्न खोजेको छ। नाङ्गो बन्न लागेको गाउँका लागि जनताले कस्तो नेता खोजिरहेका छन् र ती नेताले गाउँलाई नाङ्गो हुनबाट बचाउँछन् या आफैँ नाङ्गो भएर गाउँ छाड्न कसरी बाध्य हुन्छन् भन्ने कुरा चलचित्रको कथामा पाइन्छ। सधैँ जसो जनताको मुखमा एउटा कुरा सुनिन्छ नेताले देश बिगारे।

बजारदेखि युवाको गफिने थलोसम्म नेताले देश बिगारे अब कसले बनाउने देश भन्ने चिन्ता मात्र सुनिन्छ। नेपालको विकास नहुनुमा नेताहरूको ठुलो हात छ। भ्रष्ट नेता र उनीहरूले गर्ने काम नै यसको मुख्य जड हो। यिनै कुराको सेरोफेरोमा चलचित्र ‘नाङ्गो गाउँ’ को कथा घुमेको छ।

बेथानचोक गाउँपालिकामा भ्रष्ट नेता जरी लामा (शिशिर बाङ्देल) ले धेरैअघिदेखि आफ्नो पकड जमाएर बसेका छन्। उनले हरेक कुरामा भ्रष्टाचार गरेका छन्। यतिले नपुगेर उनको आँखा त्यहाँको विद्यालयमा पनि पुग्छ। तर यो कुरा गणित विषय पढाउने शिक्षक पासाङ (दयाहाङ राई) लाई मान्य हुँदैन तर त्यहाँका गाउँलेले यति हुँदासम्म पनि खासै केही बोल्दैनन्। उनीहरूलाई जस्तो नेतृत्व आए पनि उनीहरूको बिहान बेलुकीको गुजारा चल्न पाए पुग्छ। परिवर्तन कसैले भनेर हुँदैन।

यो आफ्नो मनभित्रबाट जागेर आउनुपर्छ भन्ने हेतुले पासाङ विद्यालय र गाउँलेका निम्ति शिक्षक पेसा छाडेर राजनीतितिर होमिन्छन्। वर्षौंदेखि गाउँमा शासन गर्दै आइरहेका जरी भने गाउँपालिकाको अध्यक्ष पद परिवारवादको लागि मात्र हो भन्ने ठान्छन्। उनी विद्यालयमा आफ्नो कार्यकर्ता भर्ती गराउँछन्। उनीभित्र सधैँ उनले भाषणमा प्रयोग गरिरहने एउटा दम्भ हुन्छ। गाउँमा सडक बनाइदिएको र गाउँलाई थोत्रो एम्बुलेन्स किनिदिएको उनले सधैँ भनिरहने कुरा हो तर उनले किनिदिएको एम्बुलेन्समा एउटी गर्भवती महिला ठिक समयमा अस्पताल पुग्न नपाएर जीवन गुमाउनु परेको कुरा जरीलाई थाहा हुँदैन। जरीको यही प्रवृत्तिसँग दिक्क भएका गाउँलेले नै पासाङलाई चुनावमा उठाउँछन् तर यसमा पनि जरीले एउटा सर्त राख्छन्, “चुनावमा जसले हार्छ त्यसले मतगणनास्थलबाट नाङ्गै घर जानुपर्ने हुन्छ,” चलचित्रभित्रको कथाको यो नौलो पाटोलाई निकै रोचक ढङ्गले देखाउन खोजिएको छ।
![]()
त्यस्तै जरीले आफू हार्छु भनेर अपनाएको अनेक तिकडमदेखि लिएर पासाङले पढाएका विद्यार्थी शङ्कर ‘कर्मा’ ले खेलेको दोहोरो चारित्रिक भूमिकाले पनि चलचित्रको कथामा ट्विस्ट ल्याउने काम गर्छ।
शिक्षकको भूमिकामा दयाहाङलाई सुहाएको छ। गाउँपालिका प्रमुखको भूमिकामा देखिएका शिशिर बाङ्देलले आफ्नो अभिनय क्षमता प्रशस्त रूपमा देखाउन पाएका छन्। उनले आफ्नो भूमिकामा न्याय गरेका छन्। चलचित्रका अन्य कलाकारमा मिरुना मगर, कर्मा, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ, अङ्कित खड्का, रवीन्द्र झालगायतको अभिनय छ। चलचित्रको सबैभन्दा रमाइलो पक्ष भनेकै अङ्कित खड्का र रवीन्द्र झाको अभिनय शैली हो। दुवैले बोल्ने शैलीलाई दर्शकले धेरै रुचाउँछन्। अन्य कलाकारको अभिनय भने खासै प्रभाव छाड्ने खाले देखिँदैन।

सधैँ नयाँ कथा दर्शकलाई पस्कन खोज्ने निर्देशक दीपेन्द्र लामाले यस पटक चलचित्रमा राजनीतिक विषयवस्तुलाई नयाँ ढङ्गबाट देखाउन खोजेका छन्। उनले चलचित्रमा प्रत्येक पात्रको काममा न्याय गर्न खोजेका छन्। अन्य चलचित्र जस्तै यसमा पनि निर्देशक लामाले खासै तडकभडक अपनाएका छैनन्। त्यसैले पनि उनको निर्देशकीय र कथा लेखन रुचिकर र हेरुन्जेल आनन्दमय हुन्छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend