पब्लिक सूचना
भदौ २९ गते । स्रोतको चापमा रहेको सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालिसकेको छ ।
त्यसै अनुसार सरकारले नौ अर्ब चार करोड रुपियाँ आन्तरिक ऋण प्राप्त गर्नका लागि ऋणपत्र जारी गर्न बिहीबार सार्वजनिक आह्वान गरेको छ । भदौ ३१ गते निष्कासन हुने उक्त विकास ऋणपत्र छ वर्षको हुने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
ऋणपत्र खरिद गर्न बोलकबोल पेस गर्न राष्ट्र बैङ्कले अनुरोध गरेको छ । खरिदकर्ताले अनलाइनबाटै ऋणपत्र बोलकबोल पेस गर्न सक्ने केन्द्रीय बैङ्कले जनाएको छ । बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्ने छन् ।
सरकारले नेपाल राष्ट्र बैङ्कमार्फत अल्पकाल तथा दीर्घकालका लागि आन्तरिक ऋण उठाउने गर्छ ।
स्रोत व्यवस्थापन सहज भएको अवस्थामा आर्थिक वर्षको पछिल्ला महिनातिर ऋण उठाउँदै आएकामा आर्थिक गतिविधिमा शिथिलता आएर राजस्वमा सङ्कुचन आएपछि स्रोत व्यवस्थापनका लागि यस वर्ष सुरुवाती महिनादेखि नै ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगेको छ ।
चालु आवमा मात्रै सरकारले दुई खर्ब ४० अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend