पब्लिक सूचना
नेपाली आधुनिक सङ्गीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित नातिकाजी सङ्गीत श्रवण साँझ–२०८० सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित साङ्गीतिक साँझमा नातिकाजीका २० वटा कालजयी सङ्गीत प्रस्तुत गरिएको थियो । सङ्गीतमा नेपाली लोकभाका, लय र मौलिक शैली छाड्न सफल सङ्गीतकार नातिकाजीका भजन, लोक, राष्ट्रिय, चलचित्र तथा आधुनिक गीत गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नातिकाजीका यो नेपाली शिर उचाली, नेपाली हामी रहौँला कहाँ, काली पारी दाइ कति राम्रो, पहाड बसी वनमा खेली, फूलको थुङ्गा बगेर गयो, वनमा फुल्यो फुलै फुल, कस्तुरीको बास आउँछ भन्छन्, पर लैजाऊ फूलहरू, सपना भुलाई सारा, आजै र राती, उकाली आरोलाीहरुमा, यस्तो पनि हुँदोरैछ, मर्न बरु गाह्रो हुन्न, तिमी आउँछौ भन्ने आसैआसमा, तिमीले त होइन, रानी तलाउजस्ता हृदयस्पर्शी गायन लाइभ म्युजिकसाथ प्रस्तुत गरिएको थियो ।
नेपाली सङ्गीतको अगुवा पुस्तालाई पछ्याउँदै आएका आनन्द कार्की, रामकृष्ण ढकाल, देविका बन्दाना, शिव परियार, सुरेश लामा, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य, निशा देशावर, रचना रिमाल, विकास राणा, बेनिशा पौडेल, स्मिता दाहाल, सञ्जय तुमरुक, अन्नु चौधरी, मञ्जु थापा, पूजा देवकोटा, सुप्रिय मल्ल, मेचु धिमाल, धर्म मुनिकारले गायन प्रस्तुत गर्नुभएको थियो ।
सांस्कृतिक संस्थानको प्रेक्षालयमा मङ्गलबार साँझ आयोजित कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । नेपाली सङ्गीतमा पुस्ता हस्तान्तरणको एउटा कडीका रूपमा सो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष शम्भूजित बासकोटाले बताउनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend