पब्लिक सूचना
नेपाल सुपर लिग ( एनएसएल) ले ९ टोलीसहित दोस्रो सिजनका लागि खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा मङ्सिर ८ गते काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम डे मेची भिड्ने छन् । खेल तालिका अनुसार दोस्रो संस्करण नोभेम्बर २४ (मङ्सिर ८) देखि जनवरी ६ (पौष २१) सम्म आयोजना हुनेछ ।
पहिलो संस्करणमा ७ टाेली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्ने भनिएपनि विराटनगर सिटी एफसी नखेल्ने आयोजकले जानकारी दिएको छ । विराटनगर नखेल्ने भएपछि पहिलो संस्करणका छ सहित तीन नयाँ टोली गरी कुल ९ टिमले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्नेछन् ।
एनएसएलले दोस्रो संस्करणका लागि यसअघि नै अक्सन गरेपनि अधिकांश खेलाडी पलायन भएकाले पुन: अक्सन हुने भएको छ । असोज १९ गते नयाँ टोली निर्माणका लागि अक्सन हुने भएको छ । यसका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।
पहिलो संस्करण कोभिड संक्रमणका कारण दशरथ रंगशालामा बिना दर्शकको उपस्थिति आयोजना भएको थियो । आयोजक एनएसइएमले यसपटक केहि खेल उपत्यका बाहिर गर्ने भनेपनि आर्थिक अवस्थाका कारण सम्पूर्ण खेल दशरथ रंगशालामै हुने भएको छ ।
एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब र फुटबल क्लब चितवनसँगै नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीले खेल्नेछन् ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend