पब्लिक सूचना
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले यी चार्जिङ स्टेसनको संयूक्त रुपमा उद्घाटन गरे ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् । यी स्टेसनबाट सवारी साधन छिटो चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ ठूला कारहरु चार्ज गर्न मिल्ने छन् । प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधन एक साथ चार्ज गर्न सकिने छ ।

उद्घाटन अवसरमा मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र विस्तारको लागि आवश्यक सहुलियत प्रदान गर्न र अनुकुल वातावरण बनाउन सरकार तयार रहेको बताए । आगामी दिनमा देशव्यापी रुपमा चार्जिङ स्टेसन विस्तार हुने उनको भनाइ छ ।
‘विद्युतीय गाडी (ईभी)मार्फत नै हरित र दिगो विकासमा महत्त्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिएका छौं’ मन्त्री बस्नेतले भने ‘विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरणमा महत्त्व राख्छ । सँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ ।’

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए । विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए । प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको उनको भनाइ छ ।
‘आन्तरिक रुपमा विद्युत् खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो’ उनले भने ।

चार्जिङ स्टेसन सञ्चालनमा आएका स्थानहरू :
| स्थान | जिल्ला | सङ्ख्या | ||
| धार्के | धादिङ | २ | ||
| मुग्लिङ | चितवन | १ | ||
| साझा सेवा बल्खु | काठमाडौं | २ | ||
| साझा सेवा पुल्चोक | ललितपुर | १ | ||
| नेपाल विद्युत प्राधिकरण, रत्नपार्क | काठमाडौं | १ | ||
| नेपाल पुलिस क्लब, भृकुटीमण्डप | काठमाडौं | १ | ||
| पारस बसपार्क | चितवन | २ | ||
| खुर्कोट | सिन्धुली | २ | ||
| सिन्धुली बसपार्क | सिन्धुली | १ | ||
| इलाका प्रहरी कार्यालय बर्दिबास | महोत्तरी | २ | ||
| हरिवन | सर्लाही | २ | ||
| इनरुवा बसपार्क | सुनसरी | १ | ||
| प्रहरी पेट्रोल पम्प, लाहान | सिराहा | २ | ||
| कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा | कास्की | २ | ||
| पर्यटक बसपार्क पोखरा | कास्की | १ | ||
| दमक बसपार्क | झापा | २ | ||
| बेलका नगरपालिका | उदयपुर | २ | ||
| बिर्तामोड बसपार्क | झापा | २ | ||
| सुर्खेत बसपार्क | सुर्खेत | २ | ||
| हेटौडा, रातमाटे | मकवानपुर | २ | ||
| विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी | भक्तपुर | १ | ||
| प्रहरी पेट्रल पम्प, सामाखुसी | काठमाडौं | २ | ||
| बेगनास ताल, पोखरा | कास्की | १ | ||
| बुटवल बसपार्क | रुपन्देही | २ | ||
| इटहरी | सुनसरी | १ | ||
| विराटनगर | मोरङ | १ | ||
| कोहलपुर नयाा बसपार्क | बााके | २ | ||
| धनगढी | कैलाली | २ | ||
| त्रिशूली हावा घर | नुवाकोट | १ | ||
| बट्टार, त्रिशूली | नुवाकोट | १ | ||
| कुश्मा | पर्वत | १ | ||
| लमही बसपार्क | दाङ | २ | ||
| लम्की | कैलाली | १ | ||
| जम्मा | ५१ | |||
स्रोत : नेपाल विद्युत् प्राधिकरण
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend