पब्लिक सूचना
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २२ हजार ६२७ जनामा पुष्टि भएको छ।
अहिलेसम्म १४ जना सङ्क्रमितको मृत्यु भएको डा. दाहालले जानकारी दिनुभयो। पछिल्ला केही वर्षदेखि डेंगु सङ्क्रमण जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा देखिँदै आएको छ।
पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि सङ्क्रमण दैनिक बढ्दो छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिने चिकित्सकहरु बत्ताउँछन्।
यो वर्ष जुलाईबाट बढ्न थालेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिनासम्म उच्च बिन्दुमा पुग्ने केन्द्रले प्रक्षेपण गरेको छ। डेंगुको जोखिम कायम रहेकाले सचेत रहन चिकित्सकको सुझाव छ। पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकामा पनि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।
डेंगु सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा पुष्टि भएको छ । सो प्रदेशमा १७ हजार ८८ जनामा डेंगु पुष्टि भएको छ । सुनसरी १२ हजार ४३१, मोरङ २२ सय ४९, धादिङमा २१ सय ७३ र झापामा १३ सय ४७ जनामा डेंगु पुष्टि भएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend