पब्लिक सूचना
जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दर्ता गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
राजभण्डारीले हाल अवकाश पाइसकेका छन्।
अख्तियारले उनीविरूद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ स्रोत नखुल्ने तवरले सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको हो।
उनले महानिर्देशकको रूपमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
उनी २०५१/११/३० देखि २०७९/५/३१ सम्म सरकारी सेवामा रहेका थिए।
अख्तियारले उनको आय पारिश्रमिक बचत आय, उनकी श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त आय र शेयर बिक्रीबाट प्राप्त आयस्रोतमाथि अनुसन्धान गरेको थियो।
कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका ऋण, घर बहाल, वैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, बिप्रेषण आय, शेयर लाभांश आयलगायत केलाएको थियो।
त्यसक्रममा ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँमात्रै वैधानिक आय स्रोत खुलेको अख्तियारले जनाएको छ।
पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ जफत गरी जरिवाना र कैद सजायको माग समेत अख्तियारले गरेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend