पब्लिक सूचना
विपीन कार्की अभिनीत फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को गीत सार्वजनिक भएको छ।

बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘दुई चुल्ठी बाट्न’ बोलको गीत सार्वजनिक गरिएको हो। निशान भट्टराई र मेलिना राईको स्वर रहेको गीतमा विपीन कार्की, आँचल शर्मा र निश्चल खड्कालाई देख्न सकिन्छ। गीतको भिडिओलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन्।
वि पाण्डेको शब्द रहेको गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ।

दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्ममा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, विशु पौडेल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।
टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन्।

कृष्णबहादुर थापाले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन्। यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ।
२०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को स्पिन-अफको शीर्ष भूमिकामा विपीन कार्की छन्। ‘पशुपति प्रसाद’ मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend