पब्लिक सूचना
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा परिवर्तनलाई उल्ट्याउन खोज्ने, होच्याउने र ह्युमुलेट गर्ने प्रवृत्ति र अराजक तत्वहरूविरूद्ध युद्धको घोषणा रहेको बताएका छन्।
सोमबार काठमाडौंको सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अग्रगमन र प्रगतिशील पक्ष मोर्चासँग घबराउन नपर्ने बताएका हुन्।

‘अहिले हामी परिवर्तनका पक्षधर दशकौंदेखि झन्डै ७०/७५ वर्षदेखि विभिन्न खालका संघर्ष र बलिदानको श्रृंखलाबाट गुज्रिएका पार्टी र नेताहरू, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र हजारौं सहिद र बेपत्ताहरूको त्याग तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, ह्युमुलेट गर्ने र अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरूले टाउको उठाउन खोजेका छन्,’ प्रचण्डले भने,’यो मोर्चा तिनका विरूद्ध युद्धको घोषणा हो।’

उनले सो मोर्चा परिवर्तनलाई खोसेर फेरि देशलाई प्रतिगमनको हिजोकै सामन्ती निरंकुशतातिर फर्काउन चाहनेहरूकाविरूद्ध एउटा नयाँ अभियान रहेको बताए। ‘तिनिहरूलाई चुनौती पक्कै पनि हो,’ उनले भने, लामो संघर्षपछि प्राप्त परिवर्तन र उपलब्धिलाई उल्ट्याउन खोज्ने हामीलाई सह्य छैन।’
प्रचण्डले दुई ढाइसय वर्षसम्मको सामन्तवादले देशलाई कहाँ पुर्यायो भनि प्रश्न समेत गरे। ‘हामी त्यही फोहरको डंगुर सोहर्नुपर्ने वाध्यतामा अहिले पनि छौ। तिनका विरूद्ध पक्कै पनि समाजवादी मोर्चा नेपाल हो,’ उनले भने।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend