logo
  • शनिबार, असोज १७ २०८३

ओलीलाई ज्वरो आएपछि एजेण्डामा प्रवेश नै नगरी शीर्ष नेताको बैठक स्थगित


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ५ २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सिंहदरबारमा बस्ने भनिएको शीर्ष नेताको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको छ । तस्करीको सुन छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन आयोगबारे मस्यौदा समितिले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन सिंहदरबारमा प्रमुख दलका नेता सम्मिलित बैठक डाकिएको थियो ।  तर बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण अनुपस्थित भएकाले एजेण्डामै प्रवेश नगरी बैठक स्थगित हुन पुग्यो ।

एमाले प्रमुख सचेतक समेत रहेका पदम गिरीले अध्यक्ष ओलीको अस्वस्थताका बाबजुद पनि आफू आउनै पर्ने आउने बताएपनि प्रधानमन्त्री र सभामुख प्रधानन्यायाधीशको शपथमा सहभागी हुन जानुपर्ने भएकाले बैठक बस्न नसकेको बताए ।

‘आजै चार बजे प्रधानन्यायाधीशको शपथ ग्रहण भएकाले । प्रधानमन्त्री र सभामुख उता जानुपर्ने भयो र अध्यक्ष  ओलीलाई पनि ज्वरो आएकाले आउन नसकेकाले बैठक एजेण्डामा प्रवेश गरेन’, गिरीले भने, ‘सम्भवतः अर्को बैठक भोलि ११ बजे बस्नेछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठक बस्दै नबसी स्थगित भएको बताए । ‘बैठक नै बसेन’, लामिछानेले भने,‘शीर्ष नेताको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनु हो त्यसैले सम्भवतः हामी अर्को बैठकमा सहभागी हुँदैनौ ।’

एमाले उपाध्यक्ष सुवास नेम्वाङले नेताहरुबीच हाइहेलो मात्र भएको भन्दै भोलि बस्ने गरी उठेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend