पब्लिक सूचना
काठमाडौँ,भदौ १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो।
विदेशबाट फर्किएका सबै युवालाई पार्टी निर्माणमा केन्द्रित गर्ने गरी वडा खटिने रिटर्नी सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले बताउनुभयो। “हामी नेपाली रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ। देशमा कुनै युवा बस्न चाहँदैन,” सम्बाहाम्फेले भन्नुभयो, “सबै युवालाई देशमै केही गर्न सम्भव देशमै सपना देखाउनु पर्छ भन्ने सन्देश लिएर अभियानमा जोडिने छौँ।” युवालाई स्वदेशमै आशा जगाउने गरी अभियान चलाएर पार्टीमा सङ्गठित समेत गरिने उहाँले बताउनुभयो।
यस्तै रिटर्नी सेन्टरको इन्चार्जको जिम्मेवारी पाउनुभएका लक्ष्मणदत्त पन्तले बिहीबार आफ्नो कार्यभार सम्हाल्नुभएको छ। पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएका पन्तले सम्बोधन गर्दै रिटर्नी सेन्टर महत्वपूर्ण भ्रातृ सङ्गठन भएकाले विदेशबाट फर्किएका युवालाई एकताबद्ध गरी देश निर्माणमा अभिप्रेरित गरिने बताउनुभयो।
“यो वर्ष मात्रै आठ लाख युवा बिदेसिनुप-यो। यसरी नै विदेश जान थाले देशै रित्तिने खतरा भयो,” उहाँले भन्नुभयो, “अब देशमै बस्ने वातावरण बनाएर उद्यमशील बनाउन अभियान चलाउनुपर्ने देखियो।” रिटर्नी सेन्टरले अभियान चलाएर स्वदेशमै आशा जगाउन अभिप्रेरित गरेमा विश्वका कुनकुनमा पुगेका नेपाली आफ्नो जन्मभूमि फर्किने उहाँले बताउनुभयो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend