छेउमै महाकाली नदी बगे पनि पञ्चेश्वरमा प्रसूति सेवा सञ्चालन गर्न एक ट्याङ्करको २५ हजार रुपियाँ तिरेर तीन पालिका घुमाएर ४६ किलोमिटर टाढाको स्याडी खोलाको पानी शनिबार साँझ पञ्चेश्वर ल्याइएको हो ।
स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन । छ हजार मेगावाट बिजुली निकाल्ने सपना बोकेको महाकालीबाट पानी तान्न मोटर चलाउने बिजुली नहुँदा तीन पालिका टाढाबाट ट्याङ्करमा पानी ल्याउनुपरेको बताइएको छ । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीले पानी अभावमा जेठ २८ गतेदेखि प्रसूति सेवा बन्द गरेको थियो ।
त्यससम्बन्धी चौतर्फी दबाब सिर्जना भई पञ्चेश्वर गाउँपालिकाले ट्याङ्करबाट पानी ल्याएर शनिबार साँझ ७ः१५ बजेदेखि प्रसूति सेवा सुचारु गरेको हो ।