पब्लिक सूचना
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले भोगिरहेका समस्या दीर्घकालीन रुपमा निराकरणका लागि विस्तृत अध्ययन गरी प्रस्ताव पेस गर्न सरकारी निकायहरूलाई निर्देशन दिएका छन् । नेपालीहरूले समस्या भोग्ने क्रम नरोकिएपछि उनले सरोकारवाला सरकारी अधिकारीहरुलाई शुक्रबार बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्नुपर्ने बताए ।
शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय विषयमा छलफल भएको थियो । छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसका निम्ति यही श्रावण ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend