logo
  • शनिबार, असोज १७ २०८३

यज्ञमती र चखुँचाखोला अब पुरानै स्वरूपमा, आजदेखि डोजर चलाइने


  • पब्लिक सूचना
  • शुक्रबार, साउन २६ २०८०

महानगरको टोली बिहीबार पुरिएको खोला खोल्न गए पनि स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेन। शुक्रबार बिहानदेखि चखुँचाखोला खोल्ने तयारी महानगरले गरेको छ। काठमाडौँ महानगरप्रमुख बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबिच बिहीबार दिउँसो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको छ।

नगर प्रमुख अधिकारीले भन्नुभयो, “काठमाडौँ महानगर प्रमुख बालेन शाह र मैले छलफल ग-यौँ। खोला खोल्ने विषयमा सहमति भयो। जहाँसम्म खोला पुरिएको छ, त्यहाँसम्म खोल्ने भन्ने सहमति भयो तर काम सुरु गर्न लाग्दा वडाध्यक्षहरूको असहमतिले काम रोकियो। उहाँहरू र हाम्रो कुरा मिलिरहेको छैन।”

जसरी पनि खोला खोलिने

काठमाडौँ महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवन लामाले शुक्रबारदेखि यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउने र खोला कायम गर्ने काम थालिने बताउनुभयो। उहाँले काठमाडौँ महानगर प्रमुख शाह र बुढानीलकण्ठ नगर प्रमुख अधिकारी शुव्रmबार कपनमै आएर छलफल गर्ने र काम अघि बढाउने सहमति भएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “प्रमुखहरूको छलफलमा सीमाङ्कन, रेखाङ्कन र नापजाँच गर्ने सहमति भएको छ। तीन वटा नक्सामध्ये दुई वटामा खोला देखिन्छ। हालसाबिकको नक्सामा खोला नदेखिएकाले यस विषयमा नापी कार्यालयसँग पनि आवश्यक परामर्श गरिने छ।”

वडाध्यक्ष लामाले शुक्रबारबाटै खोला खोल्ने काम अघि बढ्ने बताउनुभयो। उहाँले नगर र महानगरका खोला किनारका नागरिकले जग्गाको धनीपुर्जा ल्याउने र आवश्यक निर्णय लिएर काम थालिने बताउनुभयो। बुढानीलकण्ठ नगर प्रमुख अधिकारीले पनि सहमति गरेर काम अघि बढाउने बताउनुभयो। उहाँका अनुसार शुव्रmबार बिहान दुई पक्षबिच छलफल हुने छ।

काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने जानकारी दिनुभयो। उहाँले प्रकृतिमाथिको दोहनलाई हटाउन र बाढीको समस्या समाधान गर्न बुढानीलकण्ठका जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने बताउनुभयो। यज्ञमती र चखुँचाखोला खोल्न बिहान करिब ९ बजे पुगेको महानगरको टोलीलाई बुढानीलकण्ठ नगरपालिका प्रमुख अधिकारी, वडा नं. १० का अध्यक्ष नवराज भट्टराईसहितले अवरोध गर्नुभयो। वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराईले भने सहमतिमै अघि बढ्नुपर्ने बताउनुभयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend