पब्लिक सूचना
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्डबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ।
एमालेको अडानका बीच आज बैठक बोलाइएको हो।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।
त्यस्तै, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ।
यसैबीच सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची पनि छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्रिपरिषद्को निर्णयबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगको कार्यावधि थपको प्रस्ताव गर्ने पनि कार्यसूची छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेश गर्ने आजैको कार्यसूचीमा छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend