पब्लिक सूचना
A woman approaches a car parked outside the premises of National Planning Commission in Singha Durbar, Kathmandu, in April, 2017. Photo courtesy: Laxmi Gautam via Google Maps
राष्ट्रिय योजना आयोगले आगामी माघ मसान्तभित्र १६औं पञ्चवर्षिय योजना प्रकाशन गर्ने गरी तयारी अघि बढाएको छ।
योजना आयोगले १६औं योजनाको अवधारणा–पत्र तयार गर्दै आगामी कार्ययोजनाको तालिका निकालेको हो।
सुशासन, सामाजिक न्याय र समृद्धि ल्याउने सोचका साथ तयार गरिएको अवधारणामा आगामी आयोजनाको लागि मुख्य तीन उद्देश्य राखिएको छ।
राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास तथा अन्य क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु र मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु १६औं योजनाको प्रमुख उद्देश्य हाे।
विकास प्रयासमा देखिएका संरचनात्मक अवरोधहरूको पहिचान, सम्बोधन र निराकरण गर्दै संरचनात्मक रूपान्तरणमार्फत सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने रणनीति १६औं योजनाले राख्ने राष्ट्रिय योजनाका आयोगका अधिकारीहरूले बताएका छन्।
योजना कार्यान्वयन सम्बन्धमा सबै तह (संघ, प्रदेश, स्थानीय) र पक्ष (सरकारी, निजी, सहकारी, गैर सरकारी, विकास साझेदार तथा अन्य) का सरोकारवाला निकायबीचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउने, अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित नीति निर्माण एवम् विकासका कार्यक्रम कार्यान्वयन गर्ने रणनीति बनाइएको छ।
योजना तर्जुमाको क्रममा संघ, प्रदेश र स्थानीय तहमा आयोगको टोलीमार्फत संयुक्त रुपमा सरकारका विभिन्न पदाधिकारी तथा निकायका प्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, सहकारी क्षेत्र, गैर सरकारी क्षेत्र, विषय विज्ञ, विकास साझेदार र युवा वर्ग लगायतसँग छलफल तथा अन्तर्क्रिया गरिने बताइएको छ।
छलफल तथा अन्तर्क्रियाबाट प्राप्त सुझावका आधारमा योजनाको मस्यौदा दस्तावेजलाई परिमार्जन गरिँदै लगिनेछ र परिमार्जित मस्यौदालाई राष्ट्रिय विकास परिषदको बैठकमा प्रस्तुत गरिने आयोगले जनाएको छ।
नेपालको संविधान, विद्यमान नीति तथा कानुनी व्यवस्था, दीर्घकालीन सोच २१००, चालु १५औं योजनाको मध्यावधि समीक्षा, राजनीतिक दलका घोषणापत्र, संघीय शासन प्रणालीको कार्यान्वयनको अनुभव, दिगो विकासका लक्ष्य र अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिको योजना, नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धि–सम्झौता तथा प्रतिवद्धता र बदलिँदो विश्व परिवेशमा आधारित भइ समग्र तथा विषय क्षेत्रगत विकासका योजना तर्जुमा गरिने उल्लेख गरिएको छ।
योजनाको अन्तिम दस्तावेजमा आगामी ५ वर्षभित्र हासिल गर्ने गरी विकासका समग्र सूचकका अतिरिक्त क्षेत्रगत सूचकको परिमाणात्मक लक्ष्य निर्धारण र सो प्राप्तिका लागि उपयुक्त रणनीति तथा प्रमुख कार्यक्रम प्रस्ताव गरिने बताइएको छ।
१६औं योजना तर्जुमाको लागि जेठ अन्तिम साताबाट काम आरम्भ गरेको योजना आयोगले २०८० माघ मसान्तसम्म अद्यावधिक योजना प्रकाशन गर्ने गरी कार्यातालिका बनाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend