logo
  • शनिबार, असोज १७ २०८३

जङ्गली जनावरको आक्रमणबाट एक वर्षमा चार सय बढी घटना


  • पब्लिक सूचना
  • शुक्रबार, साउन १९ २०८०

खजुरा, साउन १९ गते । बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण एक जनाको मृत्यु भएको छ भने चार सय बढी घटना घटेको तथ्याङ्क छ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले गत आर्थिक वर्षमा जङ्गली जनावरका कारण एक जनाको मृत्यु भएको र चार सय ८७ वटा घटना घटेको जानकारी दिनुभयो ।

बाहिरी जिल्लामा जङ्गली जनावरको कारणबाट एक जनाको मृत्यु भएको र सम्बन्धित सरोकारवाला निकायको सिफारिसमा बाँके राष्ट्रिय निकुञ्जबाट राहत स्वरुप रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँके जिल्लामै भने जङ्गली जनावरको आक्रमणबाट कसैको मृत्यु भएको छैन ।

डिभिजन वन कार्यालय अर्घाखाँचीको सिफारिसमा भालुको आक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिका परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष जङ्गली जनावरको आक्रमणमा परी दुई जना सामान्य र चार जना सख्त गरी ६ जना घाइते भएको निकुञ्जका सहायक संरक्षण अधिकृत कुलनारायण चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार चितुवाको आक्रमणमा एक र हात्तीको आक्रमणमा एक गरी दुई जना सामान्य घाइते भएका हुन् । सामान्य घाइते भएका उनीहरुलाई क्रमशः १४ हजार तीन सय ७७ र २० हजार गरी कुल ३४ हजार तीन सय ७७ रुपियाँ उपचार स्वरुप प्रदान गरिएको छ ।

यस्तै, हात्तीको आक्रमणबाट एक, बाघको आक्रमणबाट एक, भालुको आक्रमणबाट एक र मगर गोहीको आक्रमणबाट एक गरी चार जना सख्त घाइते भएको सहायक संरक्षण अधिकृत चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सख्त घाइते भएका चार जनालाई उपचार खर्च स्वरुप पाँच लाख ३७ हजार दुई सय १८ रुपियाँ निकुञ्जले प्रदान गरेको छ।

त्यसैगरी, जङ्गली जनावरको आक्रमणबाट एक सय ५९ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसको राहत स्वरुप २१ लाख एक हजार एक सय ५० रुपियाँ प्रदान गरिएको छ ।

जङ्गली जनावरले तीन सय २१ पटक अन्नबालिमा क्षति गरेको पाइएको छ । जसको क्षति वापत निकुञ्जले १४ लाख ९१ हजार सात सय १० रुपियाँ उपलब्ध गराएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत चौधरीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जका जनावरका कारण चार सय ८७ घटना भएका छन् । जसको राहतस्वरुप निकुञ्जले ५१ लाख ६४ हजार चार सय ५५ रुपियाँ राहत रकम स्थानीयलाई बुझाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend