पब्लिक सूचना
दोलखा, साउन १२ गते । दोलखाको कालिञ्चोक कुरीका होटेल व्यवसायीहरूलाई स्थानीय प्रशासनले होटेलमा मूल्य सूची राख्न निर्देशन दिएको छ ।
पर्यटकहरूसँग चर्को मूल्य असुलेको गुनासो बढेपछि जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका तथा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेपछि मूल्यमा एक रुपता ल्याउन होटेलमा मूल्य सूची राख्न निर्देशन दिइएको हो ।
आगामी जनपूर्णिमासम्म होटेलहरुमा मूल्य सूची राख्न निर्देशन दिइएको छ । कालिञ्चोक कुरीमा सञ्चालित कतिपय होटेलहरुले अहिलेसम्म खाना परिकार तथा लजको मूल्य सूची राखेका छैनन् । ग्राहकहरूसँग आ–आफ्नै तरिकाले रकम असुलेको गुनासो आएपछि संयुक्त रूपमा अनुगमन गरी मूल्य मूल्य सूची राख्न निर्देशन दिइएको कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिनु भयो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले करोडौँको लगानीमा बनेका होटेलहरुमा मूल्य सूची नहुनु दुःखद भएको बाउँदै तोकिएको समयमा ( भदौ १४ गतेसम्म ) सबै होटेल व्यवसायीहरूले आ–आफ्ना होटेलहरुमा मूल्य सूची नराखे नियमानुसार कारबाही गरिने चेतावनी दिनु भयो ।
मूल्य सूची व्यावसायिक दृष्टिले पनि अपरिहार्य रहेको जानकारी दिँदै उहाँले यसमा प्रशासनले ताकेता गर्नु नपर्ने विषय नभएको स्पष्ट पार्नु भयो । मनमोहक एवम् सुन्दर कालिञ्चोक कुरीमा साना ठुला गरी करिब ७० भन्दा बढी होटेल सञ्चालनमा रहेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend