logo
  • शनिबार, असोज १७ २०८३

यु-१६ समूहको प्रतियोगिताका लागि खेलाडी छनोट सुरु


  • पब्लिक सूचना
  • शनिबार, साउन ६ २०८०

वराहक्षेत्र (सुनसरी)  साउन ६ गते । दक्षिण एसियाली फुटबल महासङ्घ(साफ) को आयोजनामा सञ्चालन हुने यु-१६ समूहको प्रतियोगितामा सहभागिता जनाउन सुनसरी जिल्ला फुटबल सङ्घले खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाउने भएको छ । कोशी प्रदेश फुटबल सङ्घ तथा अखिल नेपाल फुटबल सङ्घको पत्रअनुसार सुनसरीले खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाउने भएको हो ।

दक्षिण एसियाली फुटबल महासङ्घकाे कार्यतालिका अनुसार आउँदो भदौ १५ देखि २५ गतेसम्म भुटानमा सञ्चालन हुने साफ यु १६ च्याम्पियन २०२३ मा सहभागी हुन अखिल नेपाल फुटबल सङ्घले राष्ट्रिय टिम तयारी बनाउनका लागि देशभरि छनोट प्रक्रियालाई अगाडि बढाएको छ ।

खेलाडीलाई छनोटमा सहभागी गराउन सुनसरी जिल्ला फुटबल सङ्घले छनोट प्रक्रियालाई अगाडि बढाउने भएको फुटबल सङ्घ सुनसरीका अध्यक्ष नवीन राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाले सकेपछि प्रदेश र केन्द्रले छनोट प्रक्रियालाई अगाडि बढाइनेछ ।”

सुनसरी जिल्ला फुटबल सङ्घका महासचिव कोविदजङ्ग कार्कीका अनुसार साउन १० र ११ गते एन्फा एकेडेमी धरानमा खेलाडी छनोट गरिने बताउनुभयो । छनोटमा आउने खेलाडीहरु १६ वर्षभन्दा मुनिको हुनुपर्ने बताउनुभयो । वि.सं. २०६४ साल पुस १७ गतेपछि जन्म भएको प्रमाणित कागजात हुनुपर्ने महासचिव कार्कीेले बताउनुभयो ।

खेलाडी छनोट प्रक्रियाका लागि सुनसरी जिल्ला फुटबल सङ्घले सम्पर्क व्यक्तिसमेत तोकिसकेको छ । सुनसरी जिल्ला फुटबल प्रशिक्षक श्याम मानन्धरलाई सम्पर्क व्यक्ति तोकिएको कार्कीले जानकारी दिनुभयो ।

दक्षिण एसियाली फुटबल साफकै आयोजनामा हुने यु १९ समूहका खेलाडी छनोट प्रक्रियालाई पनि अगाडि बढाइएको महासचिव कार्कीले बताउनुभयो । असोज ४ देखि १३ गतेसम्म नेपालमै सञ्चालन हुने प्रतियोगिताको लागि साउन १२ गतेदेखि खेलाडी छनोट प्रक्रिया आगाडि बढाउने भएको सुनसरी जिल्ला फुटबल सङ्घले जनाएको छ । छनोटमा आउने खेलाडीहरुको जन्म मिति वि. सं. २०६१ पुस १७ गतेभन्दा पछि प्रमाणित कागज हुनुपर्ने सुनसरी जिल्ला फुटबल सङ्घले जनाएको छ ।

सङ्घले एन्फा एकेडेमी धरानमा खेलाडीको छनोट गर्ने भएको छ । यस्तै, प्रक्रियाका लागि सम्पर्क व्यक्ति सुनसरी जिल्ला फुटबल सङ्घका अध्यक्ष नवीन राई र जिल्ला फुटबल प्रशिक्षक श्याम मानन्धर रहने सङ्घले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend