पब्लिक सूचना
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ।
पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आइतबार साक्षी बुझ्ने आदेश दिएको हो।
न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा साक्षी बुझ्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
तत्कालीन प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरूद्ध अख्तियारले जेठ २२ गते मुद्दा दर्ता गरेको थियो।
नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गालाई कानुन विपरीत खरिद-बिक्री गर्न दिएको अख्तियारको आरोप छ।
२०६६ माघ १८ मा मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो।
यसैगरी २०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।
अख्तियारले नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको थियो। प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend