logo
  • शनिबार, असोज १७ २०८३

समाधानको आश्वासनपछि चक्काजाम रोकियो


  • पब्लिक सूचना
  • आइतबार, मंसिर १४ २०८२

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले दुई साताभित्र समस्याको समाधान निकाल्ने आश्वासन दिएपछि उखु किसानले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

उखु किसानले गत वर्ष २०८१/८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्विन्टल ३५ रुपियाँ भुक्तानी गर्न र यस वर्ष २०८२/८३ को क्रसिङ सिजनका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गर्दै गत साता मन्त्री परियारसमक्ष ज्ञापनपत्र बुझाएका थिए । मन्त्री परियारले माग सम्बोधनका लागि दुई हप्ता समय माग गरेकाले तत्काल आन्दोलन रोक्ने निर्णय गरिएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष श्यामबाबु रायले जानकारी दिनुभयो । शनिबारसम्म माग पूरा नभए उखु किसानले आइतबारदेखि सर्लाहीको हरिवनमा अनिश्चितकालीन रूपमा पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्ने घोषणा गरिसकेका थिए ।

मन्त्री परियारले यस विषयमा प्रधानमन्त्रीसहित अन्य मन्त्री, मन्त्रालयका सचिवलगायतसँग छलफल गर्न समय माग गर्नुभएको हो । उखु खेती हुने महोत्तरी, सिराहा, सुनसरी, रौतहट, बारा, नवलपरासी, कञ्चनपुरलगायत जिल्लाका किसानले सर्लाहीको हरिवनबाटै आन्दोलन प्रारम्भ गर्ने निर्णय गरेका थिए ।

अन्य जिल्लामा भन्दा सर्लाहीमा धेरै उखु खेती हुने र यहाँ तीन वटा चिनी उद्योगसमेत रहेकाले सर्लाहीबाटै अन्दोलन गर्ने तयारी महासङ्घको थियो । सरकारले गत वर्ष उखु किसानलाई अनुदानबापत प्रतिक्विन्टल ७० रुपियाँ भुक्तानी गर्ने निर्णय गरी ३५ रुपियाँका दरले मात्रै पैसा पठाएपछि किसान असन्तुष्ट छन् । अझ यो वर्षदेखि उखुको अनुदान रकमका लागि बजेट नै विनियोजन नभएपछि किसान थप चिन्तित छन् ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend