logo
  • शनिबार, असोज १७ २०८३

लाजिम्पाटका बाल–बालिकाको नाटक: रजस्वला लाज होइन, प्राकृतिक प्रक्रिया हो


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर ११ २०८२

लाजिम्पाटस्थित बेस्ट एलिमेन्टरी विद्यालयका विद्यार्थीहरूले समाजमा अझै गहिरोसँग बसोबास गरिरहेको रजस्वला सम्बन्धी लाज, मिथक र गलत धारणालाई चुनौती दिँदै प्रस्तुत गरेको नाटक ‘नो मोर सेम्’ सम्पन्न भएको छ ।

मंसिर ६ गते बत्तिसपुतलीको शिल्पी थिएटरमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ४ देखि १० सम्मका ३६ जना विद्यार्थीले अभिनय गरेका छन् । नाटकमा रजस्वला कुनै दोष, अपराध वा लाजको विषय नभई महिला शरीरको स्वाभाविक प्रक्रिया हो भन्ने सरल तर शक्तिशाली सन्देश अत्यन्त कलात्मक ढङ्गले प्रस्तुत गरिएको थियो।

दिउँसो १ र ३ बजे गरी दुई चरणमा मञ्चन गरिएको नाटकमा दर्शकको उपस्थिति अत्यन्तै उल्लेखनीय थियो। हलभरि भरिएका अभिभावक, शिक्षक तथा आमन्त्रित व्यक्तिहरू विद्यार्थीहरूको अभिनय, आत्मविश्वास र संवेदनशील विषयप्रति उनीहरूले बोकेको दायित्वबोधले प्रभावित बनेका थिए। दर्शकले पटक–पटक ताली र उत्साहजनक प्रतिक्रियाले बाल–बालिकाको हौसला अझै बढाइदिए ।

विद्यालयले यसअघि प्रस्तुत गरेका लोकप्रिय नाटकहरू ‘शिशिर बसन्त’, ‘चिप्ले ढुङ्गा’ र ‘ट्रान्जिट’ सफल भइसकेपछि यस वर्ष सामाजिक चेतनासँग प्रत्यक्ष सरोकार राख्ने विषय रोजिएको थियो। साना उमेरका बाल–बालिकाले रजस्वलाबारे खुलेर बोल्ने, गलत धारणालाई प्रश्न गर्ने र आत्मसम्मान र सकारात्मक सोचको आवश्यकताबारे संदेश दिनुले विद्यालयको शैक्षिक दृष्टिकोण कति प्रगतिशील र समयानुकूल छ भन्ने कुरा पनि उजागर भएको छ।

कार्यक्रमको समापनमा विद्यालयकी संस्थापक प्रधानाध्यापक शुस्मा सुब्बा लामाले विद्यार्थीहरूको सिर्जनशीलता, साहस र सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै भनिन्, “रजस्वला कुनै लाज मान्ने विषय होइन। यो विषयलाई बाल्यकालदेखि नै खुलेर सिकाउन सके मात्र समाजमा अझै पनि हुने भेदभाव, छुवाछुत र मिथकहरू हट्दै जान्छन्। आज विद्यार्थीहरूले प्रस्तुत गरेको अभिनय केवल नाटक मात्र होइन, गलत परम्परा र मौनता विरुद्ध उठाइएको आवाज हो। उनीहरूको आत्मविश्वास, अभिव्यक्ति र सामाजिक मुद्दाप्रति उनीहरूले देखाएको संवेदनशीलता हाम्रो विद्यालयको वास्तविक पहिचान हो।”

दर्शकहरू नाटकभरि भावुक, हँसिला र सोच्न बाध्य बनाउने क्षणहरूमा तानिएकाले कार्यक्रमले सामाजिक रुपान्तरणतर्फ सशक्त संकेत गरेको देखिन्थ्यो। विशेषगरी रजस्वलाबारे अझै सहज रूपमा बोल्न हिच्किचाउने समाजमा नयाँ पुस्ताले यति निर्भीकतापूर्वक सत्य बोलीदिएको दृश्यले धेरैको मन छोयो।

‘नो मोर सेम्’ ले रजस्वला विषय लुकाएर राख्नुपर्ने होइन, ज्ञान र समझका साथ खुलेर बोलिनुपर्ने सन्देशलाई सबैको सामु स्पष्टसँग राख्यो। विद्यालयले भविष्यमा पनि यस्ता सामाजिक विषयमा केन्द्रित सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend