पब्लिक सूचना
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङमा ८ हजार ४३१ जनाले नयाँ नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी शिव गुरुङका अनुसार असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म जिल्लामा ८ हजार ४३१ जनाले नाम दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङ्ख्या एक हजार ९६९ रहेको छ । जसमा ११ सय २८ पुरुष र ८४१ महिला रहेका छन् । यस्तै, छ हजार ४६२ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नामावली दर्ता गराएको निर्वाचन अधिकारी गुरुङले बताउनुभयो ।
बाह्य जिल्लाबाट ७३ जना (३१ महिला र ४२ पुरुष) ले नयाँ दर्ता गराएका छन्। साथै २०६ जनाले नामावली सच्याएका छन् भने ७५४ जनाले विवरण सार्ने प्रक्रिया पुरा गरेका छन्।
गुरुङका अनुसार विगतको तुलनामा यस पटक नाम दर्ता गर्नेमा युवापुस्ताको उत्साह देखिएको थियो । मतदाता दर्ताप्रति कम चासो देखाउने युवाहरू यसपालि आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित थिए । कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको आयोगले सरकारको आग्रहमा सो म्याद मङ्सिर ५ गतेसम्म थप गरेको थियो ।
धादिङमा कुल मतदाता सङ्ख्या दुई लाख ६५ हजार ९९६ रहेकोे छ । तीमध्ये एक लाख ३० हजार ५९४ महिला, एक लाख ३५ हजार ४०१ पुरुष र एक जना अन्य मतदाता रहेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend