logo
  • आइतबार, असोज १८ २०८३

निर्वाचन संवैधानिक दायित्व: तोकिएकै मितिमा सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको आग्रह


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर २ २०८२

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय भएको निर्वाचन देशलाई संवैधानिक रिक्तता र राजनीतिक अन्योलबाट जोगाउने राष्ट्रिय दायित्व भएको बताउँदै सोही मितिमा चुनाव सम्पन्न गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा नागरिक अगुवासँगको संवादमा उहाँले निर्वाचन सरकारको इच्छाशक्ति मात्र नभई संवैधानिक बाध्यकतासमेत भएकाले तोकिएकै समयमा हुनुपर्ने स्पष्ट गर्नुभयो।

प्रधानमन्त्री कार्कीले प्रमुख दलको सहभागिता र निर्वाचन आयोगमा मंसिर १० भित्र दल दर्ताको अनिवार्यता निर्वाचन सुनिश्चितताको प्रमुख संकेत भएको बताउँदै नागरिक समाजलाई लोकतन्त्रलाई सही मार्गमा फर्काउन निर्णायक भूमिकासहित सक्रिय हुन आग्रह गर्नुभयो।

उहाँले सुरक्षा, सुशासन र खर्च कटौतीलाई सरकारको प्राथमिकता बताउँदै विगतका अनावश्यक भर्ती र बदनामी रोक्न कडाइका साथ निगरानी गरिने जानकारी दिनुभयो। कानुन–व्यवस्थासँग जोडिएको जेनजी आन्दोलन युवाहरूको राजनीतिक असन्तुष्टिको गहिरो अभिव्यक्ति भएको उल्लेख गर्दै प्रधानमन्त्रीले युवालाई मन जीत्ने संरचनात्मक सुधारका कदम चालिँदै गएको बताउनुभयो।

संवादमा सहभागी बुद्विजीवी, नागरिक अगुवा र विश्लेषकहरूले चुनावको वातावरण निर्माण, सुरक्षाको व्यवस्था, भ्रष्टाचार नियन्त्रण तथा दलबीच सहमति निर्माणका विषयमा सुझाव दिन पुगे। मन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले आगामी बुधबार सबै दलसँग प्रत्यक्ष संवाद गर्ने जानकारी दिँदै सरकार चुनाव प्रबन्धमा सक्रिय रहेको बताए।

यसैबीच प्रधानमन्त्री कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार रोकथाम र अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो। जनशक्ति–स्रोत व्यवस्थापन गर्दै सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन उहाँले जोड दिनुभयो।

प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका पालिका प्रमुखहरुसँग छुट्टै भेट गर्दै निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभयो। स्थानीय सरकार प्रमुखहरूले चुनाव सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै आफ्ना प्राथमिक समस्या तथा आवश्यकताहरू पनि प्रधानमन्त्रीसमक्ष राखे। प्रधानमन्त्री कार्कीले देशलाई भावी पुस्ताका लागि बस्नलायक बनाउन सबैसँग मिलेर काम गर्नु आवश्यक रहेको बताउँदै सहकार्यको आह्वान गर्नुभयो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend