logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच निर्वाचन तयारीमा छलफल


  • पब्लिक सूचना
  • बिहिबार, कार्तिक २० २०८२

सरकारका तर्फबाट आगामी निर्वाचनको उपयुक्त वातावरणका निम्ति संवाद तीव्र पार्ने क्रममा बुधबार प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबिच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भयो ।

प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार भेटमा प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावना अनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको जानकारी दिनुभयो । सो क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राख्नुभयो । उहाँले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सराहनासमेत गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “राजनीतिक दलहरू चुनावमा जानैपर्छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो । तपाईंहरूले चुनावका लागि गर्नुभएको तयारी र सबै पक्षसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ ।  निर्वाचन आयोगलाई बजेट दिनुभएको छ । बन्दोबस्तीका सामग्रीको व्यवस्थापन भइरहेको छ । यो राम्रो कुरा हो । अब नागरिक समाजसँग पनि कुरा गर्नुहोस् । नागरिक समाजले पनि दलहरूलाई चुनावमा जान प्रेरित गर्नु पर्छ ।”

उहाँले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयमा आफ्नो अनुभव पनि सुनाउनुभयो । त्यतिखेरको सुरक्षा अवस्था र भूराजनीतिक परिवेशका सम्बन्धमा पनि उहाँले चर्चा गर्नुभयो । उहाँले सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायबिचको समन्वयमा जोड

दिनुभयो । दलहरूले पनि चुनावको अपरिहार्यता बुझेका कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दलहरूलाई म पनि भनिरहेको छु चुनावको विकल्प छैन । चुनाव नगरी हुँदैन । अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनुहुँदैन ।”

भेटमा अर्थमन्त्री रामेश्वर खनाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो । सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षसँग संवाद तीव्र रूपमा अघि बढाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend